काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावले पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँ नोक्सानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सिर्जित लकडाउनको अवधिमा मन्त्रालयद्वारा गरिएका प्रमुख कार्यक्रमहरुको सार्वजनिक गर्दै यो अवधिमा ४१ अर्ब रुपैयाँ नोक्सानी भएको बताइएको छ ।
पर्यटन तथा हवाइ क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन कमिटि गठन गरेको थियो । समितिको प्रतिवेदन अनुसार प्रति महिना सरदर १० अर्वको कारोवार मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान देखिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।
उनले प्रतिवेदनको हिसाव अनुसार चैत्र ११ गते देखि अहिले सम्म ३४ अर्वको नोक्सान भएको र साउन ७ गते सम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने देखिएको बताए । पर्यटन मन्त्री योगेश भट्टराईले बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि पाँच प्रतिशत व्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको बताए ।
होटलको लागि भ्याट दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर चार महिना पुर्याएको, हवाइजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन नेपाल सरकारसमक्ष सिफारिश गरेका छौं, मन्त्री भट्टराईले भने ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डलाइ तिर्ने रकमको अवधि बढाइ सो अवधिमा रकम नबुझाएमा लाग्ने थप दस्तुर वा जरिवाना मिनाह गरेको मन्त्रालयले जनाएको छ । यो सँगै लकडाउन अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको ।
होटल रेष्टुरेण्ट तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यावसाय सुचारू गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको जनाएको छ ।