काठमाडौं । एक महिनाभित्र ढल्केबर—मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन ४०० केभीमा चार्ज हुने भएको छ । नेपाल–भारतबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन आगामी साउनभित्र सम्पन्न भइ ४०० केभीमा लाइन चार्ज हुने भएको नेपाल विद्युत् प्राधिरकणक कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
नयाँ ट्रान्सफर्मर जोड्ने र नयाँ थप जडान गर्ने काम भइरहेको छ । यता, भारततर्फको तार तान्ने काम भने सकिएको छ । लकडाउनका कारण नयाँ ट्रान्समिटर र उपकरण ढुवानी र जडानमा समस्या भएपनि एक महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुने घिसिङले बताए ।
‘प्रसारण लाइनको काम भइरहेको छ । अबको एक महिनामा लाइन ४०० केभीमा चार्ज हुन्छ’ घिसिङले भने, ‘एक/दुइओटा ट्रान्सफर्मर नआएर रोकिएको छ । त्यसपछि सवस्टेशन चार्ज गर्ने काम हुनेछ ।’
प्रसारण लाइनको मुख्य फाउन्डेसनमा ट्रान्सफर्मर जोड्ने काम सम्पन्न भएको छ । ३१५ एमभीए ट्रान्समिसन लाइन जोडिसकिएको र दुइओटा जोड्न बाँकी छन् । धनुषामा निर्माणधीन उक्त प्रसारण लाइन स्वदेशी लगानीमा बनिरहेको छ ।
४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच झन्डै १ हजार २०० मेगावाट विद्युत आयात–निर्यात गर्न सकिनेछ । हाल ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन २२० केभीमा लाइन चार्ज भइरहेको छ । उक्त प्रसारण लाइनमार्फत हाल भारतबाट विद्युत् आइरहेको छ । ढल्केबरमा ४००/२२० केभी सबस्टेसनको निर्माण बर्खायाम बचत हुने विद्युत् भारत निर्यात गर्न सकिने छ भने हिउँद वा आवश्यक परेको बेला भारतबाट विद्युत् आयात गर्न सकिनेछ ।
चालू आर्थिक वर्षमा नै दोलखामा निर्माणधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर, प्रसारण लाइन र पेनस्टक पाइप जडान गर्ने काममा भइरहेको ढिलाइले चालू आवमा आयोजनाबाट विद्युत् उत्पादन नहुने देखिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालमा विद्युत् वर्षादमा बढी हुनेछ । ‘सरप्लस’ भएको बिजुली यसै प्रसारण लाइनमार्फत भारत निकासी गरिनेछ ।
विद्युत् पारवहन र ‘इनर्जी बैकिङ’ गर्न पनि यो प्रसारण लाइन कोशेढुंगा रहनेछ । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट ‘पिक आवर’ मा २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ । ढल्केबरमा २२०/१३२ केभी क्षमताको सबस्टेसन पनि सञ्चालनमा छ ।
भारतीय कम्पनी एबीबीले सवस्टेशन निर्माणको काम गरिरहेको छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणको कामलाइ तीव्र रुपमा अघि बढाइरहेको छ ।