काठमाडाैं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले साउन १ गतेबाट लागू हुने गरी राजीनामा दिएका छन् ।
एक साताअघि मौखिक रुपमा जागिर छोड्ने जानकारी गराएका लामिछानेले मंगलबार राजीनामा दिएका हुन् ।
लामिछानेले गत मंसिरमा पोखराका पर्यटन व्यवसायी स्वीफ्ट होलिडेजका नारायण पौडेललाई आफ्नो लिमिटभन्दा ७ करोड बढि ऋण दिएका थिए । बोर्डले सीईओको ऋण लिमिट १० करोडको निर्णय गरेपनि सीईओ लामिछानेले बोर्डलाई छलेर १७ करोड ऋण पौडेललाई दिएका थिए । ऋण दिएपछि व्यवस्थापनले स्पष्टीकरण सोधेपछि लामिछानेले तीनमहिनामा नै ऋण असुल गरेका थिए । याे विषयमा सीईओ र व्यवस्थापनबीच खटपट चलिरहेको थियो । बोर्डले सीईओ लामिछानेलाई पहिला सचेत गराउँदै पछि स्पष्टीकरणसमेत सोधेको थियो ।
‘बोर्डलाई बाइपास गरेर सीईओको लिमिटभन्दा बढि ऋण दिएपछि बोर्ड बैठकले नै सीईओलाई सोधपुछ गरेको थियो । त्यसपछि सो ऋणलाई असुल गरिएको हो,’ बैंकका एक बोर्ड सदस्यले क्यापिटल नेपाललाई भने, ‘ऋण प्रवाह नै गलत तरिकाले भएपछि असुल गर्नुपरेको हो, नत्र कुनै समस्या थिएन ।’
बैंकको व्यवस्थापनले लामिछानेलाई विं सं २०७४ कार्तिक २६ गते चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो ।
लामिछानेले केही समयअघि व्यवस्थापनका दुई सदस्यलाई समेत राष्ट्र बैंकमा उजुरी हाल्ने धम्की दिएका थिए । आफुले छोडेपछि बैंक समस्यामा पर्ने भन्दै उनले राष्ट्र बैंकलाई टेकओभर गराउन लगाउने समेत बताएर धम्काएको स्रोतले क्यापिटल नेपाललाई बतायो ।
सीईओ लामिछानेले आफुले छोड्ने जानकारी बैंकलाई दिइसकेको संक्षिप्त प्रतिक्रिया क्यापिटल नेपाललाई दिए ।
याे पनि हेर्नुस्, महालक्ष्मीका सीईओले बोर्डलाई दिए राजिनामाको जानकारी, ऋणकोे विषयमा बोर्डले गराएको थियो सचेत