काठमाडौं । बर्खायाम सुरु भएसँगै विभिन्न क्षेत्रमा बाढी र पहिरो जाने जोखिम उत्तिकै बढेको छ । देशका विभिन्न सडक तथा राजमार्ग बर्षा सुरु भएसँगै अवरुद्ध तथा बन्द हुने गर्छन् ।
साना तथा ठूला सडकमार्ग बाढी वा पहिरोले पुँरिदा वा भत्किएर अवरुद्ध हुँदा यातायात सञ्चालनमा समेत बाधा पर्ने गर्छ । अवरुद्ध सडक लामो समय खुलाइँदैन् । जसले गर्दा प्रत्यक्ष आवतजावत र यातायात सञ्चालनमा समेत बाधा पुग्ने गरेको छ ।
अहिले मुलुक बन्दाबन्दी(लकडाउन) मा भएकाले यातायातका सवारी सञ्चालन कम भएपनि अत्यावश्यक सवारी साधनलाई समेत बाधा पर्ने गर्छ । गत बुधबार राती सिन्धुपाल्चोकको बाह्बिसेमा आएको बाढीले अरनिको राजमार्ग भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध हुन पुगेको छ ।
त्यस्तै, अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ । अवरुद्ध सडक नखुल्दा उद्धारमा समेत कठिनाई भइरहेको छ । सडक खुलाउनका लागि सडक विभागले प्रयत्न गरेको छ ।
गण्डकी प्रदेश, कर्णाली, प्रदेश नम्बर ५ का पहाडी जिल्लाका अधिकांश सडक लगातकारको वर्षाका कारण अवरुद्ध बनेको त्यहाँबाट खबर प्राप्त भएको छ ।
ग्रामीण क्षेत्र जोड्ने सडकहरु पनि अबरुद्ध हुन पुगेको स्थानीय तहहरुले बताएका छन् । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा रहेको सडक विभागले जनाएको छ । ‘हामीलाई सडक अवरुघ भएमा ठाउँ ठाउँमा जानकारी दिने व्यक्ति रहेका छन् । शुरक्षा प्रशासनले तुरुन्त खबर गर्छ’ सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले भने, ‘हाम्रा भएका मेसिन, उपकरणहरु तुरुन्त ‘मुभिलाईज’ गरेर अवरुद्ध सडक तुरुन्त खुलाउँछौं । हामी त्यसका लागि तयारी अवस्थामा छौं ।’
उनले बीपी राजमार्ग, पूर्व—पश्चिम राजमार्ग लगायतका केही राजमार्ग भने अहिलेसम्म अवरुद्ध भएको छैन् । अन्य सडकमार्गको अवस्था के छ भनेर बुझ्ने प्रयास गरिरहेको प्रवक्ता सापकोटाले बताए ।