काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा १३ लाख ४० हजार विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन १ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
सरकारले शिक्षा मन्त्रालयमार्फत विद्यालयका छात्रालाई निःशुल्क प्याड दिने घोषणा गरे पनि नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्योग एकदमै सीमित मात्रै छन् । अहिले पनि अधिकांश सेनेटरी प्याड भारतबाट आइरहेको छ ।
सरकारले ७५३ ओटै स्थानीय तहमा अध्ययनरत छात्राहरुका लागि निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्ने भएपछि गाउँगाउँमा महिलालाई सेनेटरी प्याड उत्पादनमा किन नलगाउने ?
यसले एकातिर गाउँगाउँमा उद्यमी जन्माउन सकियो भने अर्कोतिर रोजगारी पनि दिन सकिने व्यवसायमा लागेका महिलाहरको बताउँछन् ।
सरकारले महिलाले उत्पादन गरेको सेनेटरी प्याड किनेर विद्यालयका छात्रालाई निःशुल्क बाड्ने बित्तिकै उनीहरुको उत्पादनको बजारीकरण पनि भयो भने लगानी पनि डुब्ने सम्भावना नहुने महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शारदा रिजालले बताउँछिन ।
भारतमा अरुणाचल भन्ने व्यक्तिले प्याडको परिचय नै फेरिदिएका छन् । भारतका हरेक ठाउँमा सानो लगानीमा सेनेटरी प्याड बनाउने उद्योग खुलेका छन् । नेपालमा पनि यसलाई अभियानकै रुपमा लैजान सकिने उनको भनाइ छ ।
७५३ ओटा गाउँपालिकामा पहिला एउटा उद्योग लगाउने, सरकारले पनि त्यो गाउँपालिकाको स्कुलमा अध्ययनरत छात्रालाई त्यही उद्योगबाट किनेर निःशुल्क बाड्ने र गाउँगाउँमा यसको प्रयोग र फाइदाका बारेमा पनि महिलालाई सहभागी गराउने हो भने नयाँ महिला उद्यमी जन्मिन सक्ने रिजालको भनाइ छ ।
‘भारतमा २ रुपैयाँ (भारु)मा महिलाले प्याड पाउँछन् । महिनाभरका लागि प्याड किन्न २० रुपैयाँ लाग्न सक्छ,’ रिजालले भनिन्, ‘यसले स्थानीय स्तरमा रोजगारी पाउने र ग्रामिण अर्थतन्त्र चलायमान हुने र महिला स्वरोजगार जागरण पनि सुरु हुन्छ ।’
काठमाडौंमा सेनेटरी प्याड बनाउन जुटिरहेकी ज्योति गैरे प्याड बनाउने मेसिनको मूल्य बढी नपर्ने बताउँछिन् । उनले मेसिन अर्डर गरिसकेकी छन् । उनका अनुसार प्याड बनाउन आवश्यक पर्ने पूरा सेट ३ देखि ५ लाख रुपैयाँमा तयार हुन्छ ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले गाउँगाउँमा सेनेटरी प्याड खोल्नका लागि सम्पूर्ण बैंकले सहयोग गर्ने वतावरण आफूले बनाउने बताए ।
‘लगानी गर्ने पैसा नभएर कुनै पनि महिलाले आफ्नो योजना रोक्न पर्दैन्, त्यो ग्यारेन्टी म लिन्छु,’ उनले भने, ‘सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँग म आफै कुरा गरेर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने जिम्मा मेरो भयो ।’ सेनेटरी प्याड बनाउने मेसिन सहित उद्योग लगाउन खासै ठूलो लगानी आवश्यक नहुने उनको भनाइ छ ।
महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष रिजालले सेनेटरी प्याड उत्पादन, बिक्री वितरण र मार्केटिङमा पनि महिला सहभागी गराउन सके यसले देशभर सेनेटरी प्याडको प्रयोगको माहोल बनाउने बताइन् ।
प्याड बनाउन आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ देशभित्र उपलब्ध छ । केही कच्चा पदार्थ मात्रै भारतबाट ल्याउनुपर्ने प्याड उत्पादनको तयारीमा रहेकी गैरेले बताइन् ।
अहिले महिलालाई जागरुक बनाएर प्रत्येक गाउँपालिकामा कम्तिमा एउटा प्याड उद्योग लगाउन प्रोत्साहन गर्ने र सरकारले उनीहरुबाटै प्याड किनेर विद्यालयका छात्रालाई दिने बित्तिकै बजार पनि सुनिश्चित हुन्छ ।
विद्यालयका छात्रालाई यसको बारेमा बुझाउने बित्तिकै उनीहरुले आफ्ना घर परिवारमा पनि बुझाउने र गाउँभरी यसको प्रयोगलाई बढाउन सकिने रिजालको बुझाइ छ ।
सरकारले पनि यसलाई अभियानकै रुपमा अघि बढाउन खोजेको छ । फेरी निरन्तर चलिरहने व्यवसाय हो । गाउँघरमा बेच्ने प्याडको गुणस्तर र सहरमा बेच्ने प्याडको गुणस्तर फरक फरक बनाउने त्यसको मूल्य पनि फरक राख्नुपर्ने उनको भनाइ छ ।