काठमाडौं । नेपाली बजारमा सुन मुल्य ऐतिहासिक महंगो बनेको छ । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन एकैपटक १६ सयले मुल्य वृद्धिले १ लाख १ हजार ४ रूपैयाँमा पुगेको छ । यो सँगै सुनको मुल्य बढेसँगै कारोबार ठप्प भएपछि सुन व्यवसायी समेत अत्तालिएका छन् ।
कोरोना भाइरस(कोभिड १९) कै संघारमा सुनको मुल्य उच्चतम विन्दुमा पुगेपछि सुन व्यवसायी समेत निराश बनेको छन् । अमेरिकी डलरको भाउ बढेको र अन्तराष्ट्रिय बजारमा समेत सुनको मुल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि परेको व्यवसायी बताउँछन् । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको व्यवसायीले बताएका छन् ।
सुनको भाउ बढेपनि कारोबार भने ठप्प रहेको सुन व्यवसायीले गुनासो छ । सुनको मुल्य प्रतितोला लाख नाघेपछि सुनको मुल्य र कारोबार आगामी दिनमा कस्तो रहँला र सुन व्यवसायी साँच्चीकै सन्तुष्ट छन त भन्ने प्रसंगमा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष मोहनबहादुर विश्वकर्माले प्रस्तुत गरेको विचारः
सुनको मुल्य वृद्धिले व्यापारमा अप्ठ्यारो पारेको छ । व्यापार व्यवसाय ठप्पै छ । मुल्य वृद्धि भएर मात्रै के गर्ने कारोबार नभएपछि हामी समस्यामा छौं । यो दुइदेशीय अन्र्तराष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि सुनको मुल्य बढेको हो । अन्र्तराष्ट्रिय रुपमा सुनको मुल्य बढेपछि हामीले यसलाई केही गर्न सक्ने अवस्था हुँदैन् ।
हामी सुनको कारोबार नभएपछि के गर्ने भन्ने अन्यौल र चिन्तामै छौं । सुनको कारोबार गर्ने व्यवसायीले विभिन्न बैंकको ब्याज, किस्ता, घरभाडा, घरायशी खर्च चलाउन हामी निकै चिन्तित छौं । कारोबार हुने सम्भावना पनि छैन् । कोरोनाको महामारी अझ बढ्दै जाने अवस्था छ । सुनको भाउ पनि तत्काल घट्ने अवस्थामा छैन् । झन बढ्नेवाला छ ।
सरकारले नीति तथा कार्यक्रममा सुनको कोटा घटायो । बजेट भाषणमा सुनको भन्सार दर बढायो । सुन व्यवसायीलाई सुलभ कर्जा दिनुपर्ने हो । सुलभ कर्जा दिएको छैन् । बैंकको ब्याजदर छुट पनि छैन् । कर छुट पनि छैन् । घरभाडा करमा पनि छुट दिएको छैन् । हामीले यसअघि नै ज्ञापनपत्रमार्फत सरकारलाई भन्दै आएका हौं । तर, सरकारले सुनिराखेको अवस्था छैन् ।
सुन चादीका गरगहना लगाउने हाम्रो संस्कृति र परम्परासँग जोडिएको छ । परापूर्वकालदेखि नै विभिन्न जात जातीले परम्पराअनुसार गरगहना लगाउने चलन नै हो । यसमा सुन व्यवसायीले लगानी गर्नु स्वभाविक हो ।