काठमाडौं । कर्मचारी संचय कोषले प्रस्तावित ९९.८ मेगावाटको तामाकोसी पाँच जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । सञ्चय कोष र नेपाल विद्युत प्राधिकरणबीच ऋण लगानीसम्बन्धी आशयपत्रमा हस्ताक्षर हुने भएको छ ।
सञ्चालक समितिले सहमति दिइसकेकाले अब विद्युत प्राधिकरणसँग छिट्टै ऋण लगानीका लागि एमओयूमा हस्ताक्षर हुने सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए ।
‘विद्युत प्राधिकरणले प्रस्ताव गरेपछि हामीले आयोजनामा १४ अर्ब रुपैयाँसम्म एकल ऋण लगानीको प्रस्ताव गर्न लागेका हौं,’ उनले क्यापिटल नेपाललाई भने ‘१२ देखि १४ अर्ब रुपैयाँ ऋणको जिम्मा हामीले लिने भएका छौं ।’ बाँकी रकम स्वपुँजी (इक्विट) बाट जुटाइनेछ । विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि वा सोभन्दा अगावै एमओयू हुने उनले सुनाए ।
आयोजना नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीबाट निर्माण गर्न लागेको हो । तामाकोसी हाइड्रोपावर लिमिटेडले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआईबी) ले आयोजनामा १५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाइसकेको छ ।
सञ्चय कोष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको मुख्य लगानीकर्ता हो । सञ्चय कोषले तामाकोसी पाँचौं आयोजनामा लगानी गर्न दिनुपर्ने शर्त राख्दै आएको छ ।
‘माथिल्लो तामाकोसीबाट बिजुली उत्पादनपछि निस्कने पानी सिधै टेलरेस सुरुङबाट तामाकोसी पाँचौंमा जाने भएकाले आयोजनाको बाँध बनाउन पर्दैन । बाँधको लागत जोगिने छ’गौतमले भने, ‘८ किलोमिटर लामो सुरुङका कारण लागत अली बढी भएपनि आयोजना आर्थिक रुपमा आकर्षक देखिएको छ ।’
आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रोमेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । तामाकोसी पाँचांै जनताको जलविद्युत आयोजना हो । जनतालाई सेयर निष्कासन गर्नुपर्ने हुन्छ ।
एआईआईबीले आयोजनाको थप अध्ययन गर्न १० करोड रुपैयाँ अर्थात ९ लाख डलर अनुदान दिएको थियो । आयोजना सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि कोरोना भाइसर महामारीले लम्बिने भएको छ । एआईआईबीबाट आयोजना खोसेको दावी कोषको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) जर्मनको ल्याह्मेयर इन्टरनेसनले गरिसकेको छ । आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ ।
आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ ।आयोजनाको ८ किलोमिटर लामो सुरुङ छ । आयोजना दोलखाको उत्तरीभेग सुरीमा पर्छ ।
आयोजनालाई एआईआईबीबाट भन्दा सञ्चय कोषबाट ऋण लिन सस्तो पर्ने छ । कोषले साढे १० प्रतिशत हाराहारीमा ऋण लगानी गर्दै आएको छ । कोषले ऋणको ब्याजदर पनि घटाएको छ ।
सञ्चय कोषले माथिल्लो तामाकोसीका अतिरित्त, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसी आयोजनामा २८ अर्ब रुपैयाँ बढी ऋण लगानी गरिसकेको छ ।