काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले ठेक्का सम्झौताबमोजिम काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा राख्ने प्रकृया अघि बढाएको छ । लामो समयदेखि काम पूरा नगरी पटक-पटक म्याद थप्ने २१ वटा निर्माण कम्पनी कालोसूचीमा राख्न लागिएको हो ।
वि.सं २०६६ चैतमा सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका निर्माण कम्पनीहरुलाई सम्पर्कमा नआउँदा सम्झौता तोड्ने निर्णयमा पुगेको कार्यालय प्रमुख सुमनले बताए।
कालोसूचीको प्रकृया अघि बढाइएका निर्माण कम्पनीहरु मकवानपुरको जीपीबी कन्स्ट्रक्सन हेटौंडा, शर्मिला निर्माण सेवा वसामाडी, हेटौंडा कन्स्ट्रक्सन, बि ब्रदर्स निर्माण सेवा हेटौंडा, विनायक कन्स्ट्रक्सन हेटौंडा, दामुचन्द्रमाला कन्स्ट्रक्सन वसामाडी र आरएस निर्माण सेवा वसामाडी रहेका छन्।
त्यसैगरी, पर्साका आशिया कन्स्ट्रक्सन, वीरगञ्ज, अभय कन्स्ट्रक्सन वीरगञ्ज, शिव निर्माण सेवा, भेडियारी, सौरभ कन्स्ट्रक्सन मुरली छन्। बाराका नन्दनी कन्स्ट्रक्सन कलैया, जनजागृति कन्स्ट्रक्सन कलैया, विशाल कन्स्ट्रक्सन बघवन र काठमाडौंको नमयुग निर्माण सेवा जोरपाटीसँगको सम्झौता रद्द गरी कालोसूचीमा राख्ने प्रकृया अघि बढाइएको छ।