काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । बैठकले मन्त्रिमण्डल ब्यापक रुपमा हेरफेर गर्न सक्ने जनाइएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही मन्त्रीलाई घर फर्कन इंगित गरेका थिए । मन्त्रिपरिषद् बैठक बस्नुअघि मन्त्रिमण्डल पुनर्गठनका विषयमा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच छलफलसमेत भएको छ ।
प्रधानमन्त्रीले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरु हेरफेर गर्दै छन् भने केहीलाई निरन्तरता दिने तयारीमा छन् । तीनवटा मन्त्रालयलाई टुक्रयाएर नयाँ मन्त्री थप गर्ने मुडमा प्रधानमन्त्री छन् ।
राज्यमन्त्रीलाई पनि फिर्ता ल्याउने र उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलश्रोत तथा सिँचाइ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउन सक्ने बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री, वनमन्त्री, खेलकुदमन्त्री, भूमि व्यवस्था तथा सहकारीमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, उर्जामन्त्री, शिक्षामन्त्री, सामान्य प्रशासन मन्त्रीलाई फिर्ता पठाउने तयारी भइरहेको छ ।
परराष्ट्र मन्त्रालय सम्हालेका प्रदीप ज्ञवालीलाई अर्थमा ल्याउने तयारी गरेको बुझिएको छ । यता, अर्थबाहेक मन्त्रालयमा नजाने सुरेन्द्र पाण्डेले दाबी गरेका छन् । पर्यटन मन्त्री योगेश भट्टराईलाई भने निरन्तरता दिने बुझिएको छ ।
त्यस बाहेक जनार्दन शर्मा, विरोध खतिवडा, कल्याणाी खड्का, देवेन्द्र पौडेल, पम्फा भुसाल, यज्ञराज सुनुवार, गणेश पहाडी, महेश बस्नेतले मन्त्री बन्न लबिङ गरिरहेका छन् ।