काठमाडौं । नब्बे प्रतिशतभन्दा बढी ‘क्यास लस’मा रहेका उद्योगी/व्यवसायीले आफ्नो इज्जत जोगाउन लागत मूल्यभन्दा कममै सामान बेच्न थालेका छन् ।
अहिलेसम्म कमाएको इज्जत माटोमै मिल्ने अवस्था आएपछि उद्योगी/व्यवसायीहरुले लागत मूल्यभन्दा १० रुपैयाँसम्म सस्तोमा सामान बेच्न सुरु गरेका हुन् । इज्जत र इमान कमाउन व्यावसायिक प्रतिष्ठान तथा उद्योगीलाई ५० औं वर्ष लगाएका छन् ।
‘तर, कोरोनालाई मेहनत गरेर कमाएको इज्जत ६ महिनामै सिध्याउन लागेपछि उद्योगीलाई उत्पादन लागतभन्दा सस्तोमा सामान बेच्ने निक्र्यौल गरेका हुन्,’ विराटनगरका एक उद्योगीले भने, ‘इज्जत रहे सब थोक जोगिन्छ, तर इज्जत नै नरहे केही पनि बच्दैन् ।’
अहिले सिमेन्ट, रड, जुत्ता/चप्पल, लत्ताकपडा मात्रै होइन्, तारे होटलदेखि एयरलाइन्ससम्मले लागत मूल्यभन्दा कम मूल्य लिएर सामान बेच्ने तथा सेवा दिने निक्र्यौल गरिसकेका छन् ।
अहिले पाँचतारे होटलले अफरका नाममा ४९ डलरमा रुमको रेट झारेका छन् । जबकि, लकडाउन अघिसम्म होटल सञ्चालकहरुले नै ६० डलरभन्दा कम मूल्यमा रुम बेच्दा लागत नै उठ्दैन भनिरहेका थिए ।
त्यसैगरी, स्टिल उद्योगीले पनि ६२ देखि ६५ रुपैयाँ प्रतिकेजीमा रड बेचिरहेका छन् । जबकि, ७० रुपैयाँ आफ्नै लागत परेको उनीहरु बताउँछन् । त्यसैगरी, सिमेन्टमा पनि मूल्य घटाउने प्रतिस्पर्धा नै चलेको छ ।
असोज मसान्त आउन १६ दिन मात्रै बाँकी छ । असोज मसान्तमा उद्योगी÷व्यवसायीलाई बैंकसँग लिएको ऋणको ब्याज तथा किस्ता बुझाउनुपर्ने छ । ‘अहिले देशभरका ९० प्रतिशत उद्योग क्यास लसमा छन् ।
असोजमा बैंकलाई ब्याज र किस्ता बुझाउन सकिएन भने बैंकले पत्रिकामा नाम निकाल्छ,’ ती उद्योगीले भने, ‘त्यही भएर लागत मूल्यभन्दा कममा सामान बेच्न लागेका छन् । कम्तीमा बैंकको ब्याज तिर्न सकिन्छ कि भनेर यो उपाय लगाइरहेका छौं ।’
इज्जत बचे पैसा त आगामी दिनमा पनि कमाइएला । अहिलेसम्म पनि इज्जत रहेकाले नै बैंकले लगानी गरेका हुन् । त्यही सोच अघि लिएर सम्पूर्ण उद्योगले आफ्नो लागत मूल्यभन्दा कममा सामान बेचिरहेका छन् ।
‘बैंकले व्यावसायिक योजना हेरेर उद्योगीलाई ऋण दिएको छैन । उसले त्यो घराना वा उद्योगीले कतिको इमान्दारिताका साथ ऋण तिरेको छ । टाइम टाइममा ऋण तिरेको छ कि छैन भन्ने आधार बैंकले पैसा दिएको हो,’ वीरगन्जका एक उद्योगीले भने, ‘त्यही इज्जत जोगाउन हम्मे–हम्मे परेकाले लागत मूल्यभन्दा कममा सामान बेच्न लाग्दा पनि किन्ने मान्छे छैनन् ।’
इज्जत गुमे सबथोक एकै पटक सिधिन्छ । तर, अहिलेको अवस्थामा इज्जत जोगाउन सकियो भने पैसा भोलिका दिनमा पनि कमाइन्छ । सधैं यस्तै अवस्था नरहला भन्नेमा उद्योगी पुगेका छन् ।
उद्योगीले आफ्नो इज्जत नजाओस्, भनेर ऋणको पुनर्संरचना, पुनर्तालिकीकरण गर्न र ऋणको किस्ता तथा ब्याज बुझाउने समयपछि सार्न केन्द्रीय बैंक र सरकारसँग माग गरिरहेका छन् ।
त्यसबाहेक सरकारले कोरोना भाइरसबाट प्रभावित, कम प्रभावित र अतिप्रभावितमा परेका उद्योग व्यवसायको सूची पनि बनाइसकेको छ । त्यही आधारमा बैंकले कुन उद्योगलाई कति समयसम्म किस्ता वा ब्याज तिर्न समय दिने भन्ने उल्लेख छ । त्यो पनि उद्योगीले कमाएको इज्जत नगुमोस् भनेर हो ।
एक उद्योगीका अनुसार केन्द्रीय बैंकले प्रभावित, कम प्रभावित र अति प्रभावितको सूची बनाउँदै गर्दा अति प्रभावित भएका उद्योगहरु अझै पनि समेटिएका छैनन् । यसमा केन्द्रीय बैंकले पुनर्विचार गर्नुपर्ने उनीहरुको भनाइ छ ।
‘व्यवसायमा इज्जत भनेको सबैभन्दा ठूलो कुरा हो,’ एक उद्योगीले भने, ‘एक पटक इज्जत गुम्यो भने जीवनभर फर्किँदैन । उसको अर्बौ रुपैयाँ लगानी छिनभरमै सिधिन्छ । त्यही भएर अहिले लागत मूल्यभन्दा सस्तोमै सामान बेचेर भए पनि बैंकको ऋण र कर्मचारीको पेट भर्ने सोचमा छौं ।’