काठमाडौं । तिहारलाई झिलिमिली बत्ती र दीपहरुको पर्वका रुपमा लिने गरिन्छ । घर–घरमा दीपावली मनाउने तथा झिलिमिली बत्तीले उज्यालो पार्ने गरिन्छ ।
अहिले काठमाडौं सहरका घर–घरमा झिलिमिली बत्तीले उज्यालो र रंगीचंगी पारिएको छ । यो बेला बजारमा झिलिमिली बत्ती, मैनबत्ती र दीपको कारोबार बढी नै हुन्छ । यद्यपी, यो वर्ष कोरोना महामारीले झिलिमिली बत्ती लगायतका वस्तुको कारोबार नभएको व्यापारीको गुनासो छ ।
विगतका दसैं-तिहार तथा छठमा झिलिमिली बत्ती, मैन, पाला तथा दियो जस्ता वस्तुको सबैभन्दा बढी कारोबार हुन्थ्यो । यसपाली भने भएका सामान पनि बिकाउन धौं-धौं परिरहेको व्यवसायीको भनाइ छ ।
कारोना भाइरसको महामारीका कारण ४० प्रतिशत आयात घटेको नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष रमेश देवकोटाले बताए । उनका अनुसार गत वर्ष तिहारमा ७० करोड रुपैयाँबराबारको झिलिमिली बत्ती भित्रिएको थियो । यसपालीको तिहारमा ४२ करोड रुपैयाँ बराबारको झिलिमिलि बत्ती आयात भई कारोबार हुने आंकलन गरिएको देवकोटाको भनाइ छ ।
तिहार र छठलार्ई लक्षित गर्दै व्यवसायीले उक्त परिमाणको यस्ता बत्ती आयात गर्ने गरेका छन् । यसपाली भने पोहोरको जस्तो रौनक देखिएको छैन । अघिल्लो वर्ष झन्डै एक अर्बको झिलिमिलि बत्ती आयात भएको थियो ।
खासगरी तिहार सकिने बित्तिकै छठ पर्व सुरू हुने भएकाले व्यवसायीहरुले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात हुने गरेको छ । अहिले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका सहरमा यस्ता बत्तीको माग बढ्दै गएको महासंघको भनाइ छ ।
पछिल्लो समय सिजनको व्यापार भएकाले तिहारका लागि भित्रिएका सामान फुटपाथमै पनि व्यापारीले बिक्री गर्ने गरेका छन् । तर, यो पटक गत वर्ष जस्तो रौनक भने छैन ।
देशमा लोडसेडिङ भएका बेलाको तुलनामा अहिले यस्ता बत्ती प्रयोग गर्नेहरूको संख्या बढेको व्यापारीहरू बताउँछन् ।
चीन र भारतबाटबाट धेरै आयात
नेपालमा तिहारका लागि विशेषगरी चीन र भारतबाट यस्ता बत्ती आयात हुने गरेको छ । यसमध्ये ७० प्रतिशत चीनबाट आयात हुने महासंघका उपाध्यक्ष देवकोटाले जानकारी दिए । भारतबाट ३० प्रतिशत बत्ती भित्रिने गरेको छ । यो समयमा साधारण बल्बको बिक्री पनि दुई गुणा बढ्ने गरेको व्यवसायी बताउँछन् ।
बजारमा झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन् । न्युनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुन्छन् । विभिन्न रङमा बल्ने–निभ्ने यस्ता बत्ती उपभोक्ताले घर, बगैंचा, कार्यालय, बिजनेस मल लगायतको सजावटका लागि अत्यधिक प्रयोग गर्छन् ।
त्यस्तै, देवी–देवताका फोटोमा जोडिएको बत्तिको व्यापार पनि यतिवेला चम्किने गरेको छ । नेपालमा करिब ४ हजार व्यवसायीले यस्ता सामग्री बिक्री गर्ने गरेको महासंघका उपाध्यक्ष देवकोटाले बताए ।
दशैं सकिएको हप्ता दिनपछि नै तिहारको माहोलले सहर बजार छोपिसक्छ । व्यापारिक हिसाबले पनि तिहार महत्वपूर्ण छ । गाउँ-गाउँमा फुलेका फूल–माला तथा तिहारका सामग्री बिक्री गर्न काठमाडौंका चोक तथा सडकमा व्यापारीहरू बसेका भेटिन्छन् । व्यावसायिक प्रतिष्ठानहरूमा दशैंमा टाँगिएका माला बत्ती तिहारसम्मै बलिरहन्छन् । तिहार आउनु हप्ता दिन अघिदेखि नै घरघरमा झिलीमिली बत्ती राख्न थालिन्छ ।
काठमाडौंका असन, महाबौद्धका साथै देशभरका सहरहरूमा तिहारका सामान किनमेल गर्ने मानिसको भीड लाग्न थालिसकेको छ । अघिपछिको भन्दा तिहारमा बढी व्यापार हुने भएकाले यतिबेला व्यापारीहरूलाई भ्याइनभ्याई छ । व्यवसायीका अनुसार तिहारमा एलईडी बल्ब, झिलिमिली बत्ती अन्य समयको भन्दा ८० प्रतिशत बढी बिक्री हुने गर्दछ । तर, बजारमा यसपालि चहलपहल भने कम नै छ ।
तिहारमा परम्परागत दियोका साथै विभिन्न रङ र ढाँचाका मैनबत्तीले घर आँगन सजाउने परम्परा भए पनि पछिल्लो समय आधुनिक बत्तीहरूको प्रयोग बढ्न थालेको छ । अहिले तिहारमा परम्परागत दियो, मैनबत्तीभन्दा पनि आधुनिक विद्युतीय बत्तीहरूको प्रयोग र माग उच्च हुन थालेको छ ।