काठमाडौं । ‘इन्नोभेटिभ’ काममा सरकारभन्दा एक कदमअघि निजी क्षेत्र रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै ओलीले निजी क्षेत्रले नयाँ लगानीको क्षेत्र पत्ता लगाउने र इन्नोभेटिभ काम प्रेरित भएको बताएका हुन् ।
यस्तो विषम परिस्थितिमा पनि निजी क्षेत्रले उच्च मनोवलका साथ काम गरेर प्रविधिको अधिकतम् प्रयोगमार्फत आफ्नो व्यवसाय सञ्चालन गरेको प्रधानमन्त्री ओलीले बताए ।
अहिले लगानीका नयाँ-नयाँ क्षेत्र पहिचान भएका छन् । अझ खासगरी निजी त्यस्तो इनोभेटिभ काममा युवा व्यवसायीको जमात ठूलो रहेको र यो देशको लागि खुसीको कुरा भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले हालको महासंघको नेतृत्वले देशको आर्थिक विकासमा पुर्याएको योगदानका बारेमा समेत चर्चा गरेका छन् । ‘वर्तमान नेतृत्वले यस्तो कठिन परिस्थितिमा पनि सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेको छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘अहिलेको नेतृत्वलाई बधाई दिन चाहन्छु ।’
कोरोना भाइसरले विश्वको अर्थतन्त्र तहस नहस बनायो । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्यलाई समेत नराम्ररी प्रभावित पारेको उनको भनाइ छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि शून्यमा झरेको उनको भनाइ छ ।
यो गम्भीर समस्याबाट माथि निस्किन सरकार र निजी क्षेत्रले अघि बढ्नुपर्ने उनको भनाइ छ । यो समस्याबाट पार पाउन सबैको प्रयास आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनकाअनुसार विश्वले कोरोनाबाट तहसनहस भएको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न खाले प्याकेज ल्याएका छन् । कतिपय देशले ल्याइरहेका पनि छन् । नेपालले पनि आफ्नो क्षमताअनुसार राहतको प्याकेज ल्याएको ओलीले बताए ।
‘निजी क्षेत्रका साथीहरुले अहिलेको राहत प्याकेजले पुगेन भनिरहनु भएको छ, त्यो कुरामा म सहमत छु,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘तर, हाम्रो देशको क्षमता कति छ ? भन्ने कुरामा मभन्दा बढी जानकारी तपाईंहरु नै हुनुहुन्छ ।’
देशको ढुकुटी रित्तो छ । यस्ता अवस्थामा तपाईंहरुको मन सन्तुष्ट हुने गरी राहतको प्याकेज ल्याउन नसकिएको उनको भनाइ छ ।
‘सरकार मनको गरिब होइन्,’ उनले भने, ‘तर, क्षमता नभएर नसकेको हो ।’ अहिले देशको अर्थतन्त्र कठिन मोडबाट अघि बढेको छ ।
व्यवसायीहरु पनि ठूलो घाटामा हुनुहुन्छ । देशमा उद्योगी व्यवसायी नफस्टाएसम्म देश पनि समृद्ध बन्दैन । त्यो कुरामा सरकार प्रष्ट छ । तर, सरकारसँग क्षमता छैन ।’