काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र खुम्चिएकोमा एफएनसीसीआई चिन्तित रहेको बताइन् ।
महासंघको ५४ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले यस्तो बताएकी हुन् । उनले सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सही दिशामा लान सकिनेसमेत बताएकी छिन् ।
राणाले नेपालको अर्थतन्त्रलाई सही दिशामा लान सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्नेमा पनि सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।
‘कोभिड–१९ का कारण निजी क्षेत्र र सरकारलाई ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ,’ उनले भनिन् । महामारीको समयमा पनि व्यवसायीहरुले बैंकको सावाँ ब्याज भुक्तानी, तलब भुक्तानी, सरकारलाई बिजुलीको बिल र कर तिर्नुपर्ने अवस्था छ । जसले गर्दा निजी क्षेत्र समस्यामा परेको उनको भनाइ छ ।
कोभिड–१९ पछि आर्थिक पुनरुउत्थानका लागि बजेट घोषणा र मौद्रिक नीतिमार्फत ल्याएको नीति क्षेत्रले स्वागत गर्ने भन्दै उनले भनिन्, ‘अब नेपालले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गरेर निजी क्षेत्र र सरकार संयुक्त रूपमा अघि बढ्नै पर्छ ।’
कोभिड–१९ ले आर्थिक वृद्धि खुम्चिने तथ्यांक सार्वजनिक भइसकेको छ । आइएलओका अनुसार १६ देखि ३० लाख नेपाली कामविहीन हुने आँकलन गरेको छ,’ भनिन्, ‘वैदेशिक रोजगारीका लागि गएका नेपाली फर्कने क्रम सुरु भएको छ । पर्यटन व्यवसाय धराशायी बनेको छ जुन, पुरानै अवस्थामा फर्कन ५ वर्ष लाग्ने देखिएको छ ।’
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई राष्ट्रिय सहमतिसहित छिटो पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको र कोरोनापछि विश्व अर्थतन्त्र डिजिटलतर्फ धकेलिएकाले यसबाट नेपालमा प्रविधि उद्योगको विकास हुने राणाको तर्क छ ।
कार्यक्रममा उनले अब ढलेको अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा सरकार र निजी क्षेत्रले सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।