काठमाडौं । कोरोना भाइरसको केन्द्रबिन्दु बनेपछि तहसनहस भएको पूर्वक्षेत्रको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ । लामो समयदेखि बन्द रहेका उद्योग खुलेका छन्, मजदुरहरु पनि विस्तारै काममा फर्किन थालेका छन् ।
कोरोनासँगै जिउनुपर्छ भनेर पूर्वका उद्योगी/व्यवसायीसँग मजदुर पनि पुरानै लयमा फर्किन थालेका उद्योगीहरुले बताएका छन् । ‘लामो समयदेखि बन्द रहेका उद्योग खुलेका छन् । होटलहरु सञ्चालनमा आएका छन् । उपभोक्ताहरु पनि सामान किन्न बजारमा निस्किन थालेका छन् ।
उद्योगीले नयाँ–नयाँ उद्योग लगाउन थालेका छन्,’ पूर्वका प्रतिष्ठित उद्योगी तथा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भने, ‘पूर्वक्षेत्रको उद्योगले विस्तारै लय समाउन थालेको छ ।’
अहिले एकातिर बन्द रहेका उद्योगहरु खुल्न थालेका छन् भने अर्कोतिर उद्योगीले फेरि अर्बांै रुपैयाँ लगानी गरेर नयाँ–नयाँ उद्योग पनि खोलिरहेका छन् ।
सरकारले सीमा नाकालाई कडाइ गरेका कारण आन्तरिक उत्पादनको माग अत्यधिक भएकाले पनि उद्योगले आफ्ना उद्योगलाई पूर्णक्षमतामा चलाइरहेका छन् र नयाँ उद्योग पनि स्थापना गरिरहेका छन् ।
आर्थिक नगरी विराटनगर, सुनसरी लगायतका क्षेत्रमा खोलिएका उद्योग कोरोना भाइरसको महामारीका कारण गम्भीर अप्ठयारोमा परेको थियो । तर, अहिले कोरोराबाट सर्तक रहँदै आर्थिक गतिविधिलाई सुचारु गरिएको मोरङ उद्योग संघले जनाएको छ ।
त्यसबाहेक विराटनगर इटहरीको सडक चौडा पार्न लागिएको छ । त्यो अहिले धमाधम चलिरहेको छ । त्यहाँ ठूलो परिमाणमा सिमेन्ट, रड, बालुवा, गिटीलगायतका निर्माण सामग्रीको खपत छ ।
उद्योगमा काम गर्ने कर्मचारी वा व्यवस्थापक जो कोहीलाई कोरोना भइहाल्यो भने पनि आफू पूर्णरूपमा आइसोलेसनमा बस्ने, पूर्णरूपमा सर्तक रहने तर, उद्योगधन्दालाई सुचारु गराई रहनेतर्फ अग्रसर भएको उद्योगीहरुले बताएका छन् ।
केही समयअघिसम्म खाद्यान्न उद्योगको मात्रै व्यापार चम्किएको थियो । तर, अहिले होटल बाहेकका सबै क्षेत्रको व्यापारमा सुधार आएको उद्योगीहरुले बताएका छन् । होटलको व्यापारमा खासै सुधार आएको छैन । तर, त्यसबाहेकका अन्य व्यवसायले पुरानै गति समाउन थालेको उद्योगीहरु बताउँछन् ।
कोभिडकै बीचका नयाँ–नयाँ स्टिल उद्योग सञ्चालनमा आएका छन् । भइरहेका उद्योगहरूले पनि आफ्नो क्षमता विस्तार गरिरहेका छन् ।