उपत्यकामा साढे १० करोडको तरुलको कारोबार, भारतबाट आयात नगन्य

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७७ पुस २९, बुधबार,०१:५४:PM  
उपत्यकामा साढे १० करोडको तरुलको कारोबार, भारतबाट आयात नगन्य

काठमाडौं । माघे संक्रान्तिलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र साढे १० करोड रुपैयाँको तरुलजन्य कन्दमूलको कारोबार भएको छ ।  पुस १ गतेदेखि हालसम्म(पुस २९) गतेसम्म उपत्यकाको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजारमा १ हजार ५५ टन तरुल र पिँडालु लगायतका कन्दमूल भित्रिएका थिए । 

औसतमा प्रतिकेजी १०० रुपैयाँका हिसावले पछिल्लो एक महिनाको अवधिमा १० करोड ५५ लाखको तरुल तथा कन्दमूलजन्य वस्तुको कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘पुस १ गतेदेखि यो महिनाभर माघे संक्रान्तिलाई लक्षित गरी १ हजार ५५ टन तरुल तथा कन्दमूल बजारमा भित्रिसकेका छन्,’ उनले भने, ‘औसत प्रतिकेजी सय रुपैयाँको हिसावले सो अवधिमा साढे १० करोड रुपैयाँभन्दा बढीको तरुलजन्य वस्तुको कारोबार भएको देखिन्छ ।’

उनले प्रतिकेजी बजार मूल्य ठ्याक्कै यति भन्न नसकिने बताए । अहिले कालीमाटी बजारमा प्रतिकेजी ३०/४० रुपैयाँदेखि लिएर डेढ सयदेखि २ सय रुपैयाँसम्म तरुल तथा कन्दमूल पर्ने श्रेष्ठले बताए  ।

चालू आर्थिक वर्ष सुरु भएदेखि हालसम्म(पुस २९) गतेसम्म कालीमाटी बजारमा १२०८ टन तरुलजन्य कन्दमूल भित्रिएको श्रेष्ठले बताए । यस वर्षको माघे संक्रान्तिका लागि भारतबाट तरुलजन्य कन्दमूलको आयात नगन्य छ । अर्थात, स्वदेशी उत्पादित तरुलको नै बढी कारोबार भएको छ । पुस महिना अवधिभर तरुलको सवैभन्दा बढी कारोबार हुने गरेको छ ।

No description available.

कालीमाटी बजारमा भित्रिएको मध्ये सबैभन्दा बढी सर्लाहीबाट तरुल आएको छ । बजारमा कारोबार भएकामध्ये ४ प्रतिशत परिमाणको तरुल मात्रै भारतबाट आएको श्रेष्ठले बताए । 

एक महिनाको अवधिमा कालीमाटी बजारमा भित्रिएको मध्ये सर्लाहीबाट सबैभन्दा बढी ४७ प्रतिशत, धादिङबाट १३ प्रतिशत, सुनसरीबाट १३ प्रतिशत, चितवनबाट ४ प्रतिशत, नवलपरासीबाट साढे ३ प्रतिशत, मकवानपुरबाट ३ प्रतिशत, काभ्रे र दोलखाबाट २÷२ प्रतिशत लगायतका अन्य केही जिल्लाबाट तरुलजन्य कन्दमूल आयात भित्रिएको छ ।

No description available.

बजारमा तरुलअनुसार मूल्य पनि फरक छ । अहिले कालीमाटी बजारमा सर्लाहीको तरुलको प्रतिकेजी ६० देखि ७० रुपैयाँ छ । त्यो बाहेक अन्य जिल्लाबाट आएको तरुल डेढ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, पिँडालुको ८५ र सख्खरखण्डको १०५ रुपैयाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । खासगरी घर तरुल, वन तरुल, पात्ले तरुल, सिमल तरुल, पानी तरुललगायत विभिन्न ठाउँमा फरक–फरक प्रकृतिका तरुल हुन्छन् ।

परम्परादेखि मानिँदै आएको माघे संक्रान्ति पर्वमा तरुलसँगै पिँडालु, ध्यू, चाकु खाने प्रचलन छ । उक्त दिन हिन्दु परम्पराअनुसार नजिकको तलाउ वा नदीमा स्नान गर्दै व्रत बस्ने गरिन्छ । 

No description available.

व्रत बस्ने भक्तालुहरुले तरुल र पिँडालु खाने गर्छन् । सोही कारण यो पर्वमा तरुल र पिँडालुलगायतका कन्दमूलको कारोबार बढी हुन्छ । 
 

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top