काठमाडौं । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन् ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । नेपाली पाम आयलको माग भारतमा उच्च छ ।
नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६/०७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योगहरु संकटमा पर्दै गएका छन ।
इण्डोनेसिया, मलेशियालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले उसले पाम आयलमा प्रतिबन्ध लगाएको हो । नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।
भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेको जानकारी दिँदै ओसिबी फुड्सका सञ्चालक सुरेश रुगङ्टाले पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए तर पाम आयल निर्यातमा भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डरले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएको बताए ।
नेपालबाट प्रशोधित भई भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजारमा आफ्नो कब्जा जमाएकाले त्यहाँबाट विदेशी मुद्रा नेपाल आउँदा यहाँको उद्योग फस्टाउँदै गरेको थियो । तर भारतले केही महिनायता पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि ती उद्योगको व्यापार घाटा उच्च भएको छ । उद्योगीले आफ्ना उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम आयलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडियाले बताए ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ९ अर्ब १० करोड रुपैयाँ बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब २ अर्बकोे १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।