काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य तथा द्वि–राष्ट्रिय एवम्र एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले एसिएन कर्पोरेसन डाइलग मेम्बर कन्ट्रिज एसिडी राष्ट्रहरुबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् ।
बस्नेतले एसिडीका चेम्बर्स अफ कमर्स (सीसीआई) को पहिलो भर्चुअल सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
एसियाली सहयोग संवाद (एसीडी) को बुधबार आयोजित ‘दि इकोनिमक स्टेट अफ प्ले इन द एसियन कोअपरेसन डायलग मेम्बर कन्ट्रिज’ विषयक सो भर्चुअल सम्मेलनमा बोल्दै बस्नेतले एसिडी राष्ट्रहरुबीच क्षेत्रीय र अन्तरदेशीय सम्पर्क सुधार गर्नु आवश्यक रहेको बताए ।
उनले यसका लागि यातायात पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै राजमार्ग, रेलवे, एयर–लिंक, समुद्री मार्गहरू, साथसाथै एसीडीका सदस्यहरूकाबीच डिजिटल कनेक्टिभिटीमा जोड दिए । बस्नेतले सफ्टवेयर (सीमापार नीति सम्बन्धित) र हार्डवेयर (व्यापार सुविधा पूर्वाधारसँग सम्बन्धित) दुवै सम्पर्क पक्ष निर्माण गर्नुपर्ने र दिगो हुनुपर्ने बताए ।
वर्तमान व्यापार सम्बन्धलाई बढावा दिन र नयाँ उत्पादनका लागि व्यापारको सम्भावना पहिल्याउन समेत उनले आग्रह गरे । ‘यसका लागि हामीले व्यापार र लगानी, व्यापार सुविधा सम्बन्धित नीतिगत विषयहरुमा हामीबीच थप काम गर्नु आवश्यक छ’, बस्नेतले भने ।
व्यापार वृद्धिका लागि जनस्तरमा सम्बन्ध सुधार, पर्यटनमा जोड दिन आवश्यक रहेको बताउँदै एसिडी देशहरूबीच राम्रो हवाई कनेक्टिभिटी थालनी गर्नुपर्ने बताए ।
बस्नेतले टर्की एसिया र युरोपबीचको केन्द्र भएको बताउँदै टर्कीको पहुँँच यूरोपसम्म भएकाले एसीडीले ईयूसँगको सम्बन्ध पनि बिस्तार गर्न सक्ने बताए । नेपालको टर्कीसँग सीधै टर्की एयरवेजको सम्पर्क भएको नेपालले टर्कीलाई युरोप र सम्बन्धित एसीडी राष्ट्रहरूको प्रवेशद्वारको रूपमा उपयोग गर्न उत्सुक रहेको बस्नेतले बताए ।
बस्नेतले नेपालको वर्तमा आर्थिक अवस्थाको बारेमा संक्षिप्त प्रकाश पार्दै विशेष गरी व्यापार र लगानीका सम्बन्धमा विश्व बैंकको डूइंग बिजनेस इंडेक्स २०२० ले नेपाललाई सबैभन्दा अनुकूल राष्ट्रहरुमध्ये ९४ औं नम्बरमा राखेको उल्लेख गर्दै दक्षिण एसियाली देशहरूमध्ये नेपाल तेश्रो स्थानमा रहेको बताए ।
नेपाल भूपरिवेष्ठित देश भए पनि भारतका २ पूर्वी पूर्वी बन्दरगाह कोलकाता र र विशाखापटनमा मा पहुँच रहेको तथा हालसालै चीनले नेपाललाई तेस्रो मुलुकमा ट्रान्जिटका रूपमा ७ वटा बन्दरगाह (चीन भित्र सुख्खा बन्दरगाह, र समुद्री बन्दरगाह, टियानजिन र शेन्जेन समुद्र सहित) प्रयोग गर्नका लागि पहुँच दिएको पनि जानकारी गराए ।