काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट व्यावसायिक उडान गर्न त्रिलोक एयरलाइन्सले इजाजत पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसै साता सो एयरलाइन्सलाई इजाजत दिएको हो ।
विराटनगर निवासी निर्माण व्यवसायी अनिल गौतम सहितको समूहले सो एयरलाइन्स सञ्चालन गर्न लागेका हुन् । एयरलाइन्सले एच १२५ एक थान र ए एस २५० बी २ दुई थान हेलिकप्टर ल्याउने गरी इजाजत लिएको हो ।
यो पनि हेर्नुहोस
हेलिकप्टर क्षेत्रमा भित्रियो नयाँ कम्पनी रोयल त्रिलोक एयरलाइन्स
मन्त्रालयबाट इजाजत पाए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिनुपर्ने हुन्छ । त्यसका लागि आवश्यक डकुमेन्टहरु तयार गरेर अनुमतिका लागि पेश गर्न तयार पारिएको सञ्चालक गौतमले क्यापिटलसँग जानकारी दिए ।
अहिलेको अवस्थामा व्यवसाय सञ्चालन गर्न कठिन भइरहे पनि उपत्यका बाहिरबाट सेवा सुचारु गर्ने भएकाले सबैको साथ र सहयोग पाउने अपेक्षा लिएको उनको भनाइ छ । प्राधिकरणबाट उडान अनुमति छिटो पाइयो भने यसै वर्ष अर्थात सन् २०२१ को अन्तिमबाटै उडान सुरु गर्ने उनले जानकारी दिए ।
नयाँ हेलिकप्टरहरु मार्फत उडान गर्ने बताइए पनि हाल कति लगानी गर्ने भन्ने विषयमा भने उनले खुलाउन चाहेनन् । तर, अहिले नेपालमा ल्याउने नयाँ हेलिकप्टहरुको मूल्य ३० करोड रुपैयाँसम्म छ ।
हाल सञ्चालनमा रहेका हेलिकप्टरहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित रहेको बेला त्रिलोकले भने उपत्यका बाहिरबाट आफ्नो सेवा सञ्चालनको योजना बनाएको हो । यसअघि प्रभु हेलिकप्टरले पनि पोखरालाई मुख्य आधार बनाएर उडान सुरु गरेको थियो । तर, पछि उसले काठमाडौंलाई नै मुख्य आधार बनाएको छ ।
कोरोना भाइरस महामारीका कारण पर्यटकहरुको आगमन हुन नसक्दा समस्यामा परिरहेको बेला नयाँ हेलिकप्टर कम्पनी आउन लागेको हो ।
करिब १ वर्ष अघिनै उडान अनुमति पाएको मुस्ताङ हेलिकप्टर हालसम्म सञ्चालनमा आउन सकेको छैन । भाइरसको संक्रमण बढिरहेको र नियन्त्रणमा आउन नसकेकै कारण तत्कालै सञ्चालन गर्न समस्या भएको सञ्चालकहरुको भनाइ छ ।
यस्तै अन्नपूर्ण हेलिकप्टर पनि सञ्चालनको पर्खाइमा छ । उसले पनि इजाजत लिएर उडान अनुमति पर्खिरहेको छ । हाल नेपालमा १० वटा हेलिकप्टर कम्पनीहरु सञ्चालनमा छन् । त्रिलोक सञ्चालनमा आएपछि नेपालमा हेलिकप्टर कम्पनीको संख्या १३ वटा हुनेछ ।