काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से २ हजार ३७४. ६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।
नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै ३२ खर्ब रुपैयाँ को हाराहारीमा पुगेको छ । नेप्सेका अनुसार कूल बजार पूँजीकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कूल ग्राहस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रहेको छ ।नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० कम्पनी शीर्षस्थानमा रहेको छ ।
त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई बीमा कम्पनी, छ ‘क’ वर्गका वाणिज्य बैंक र एक उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।नेपाल टेलिकमको कूल बजार पूँजीकरण २ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कूल बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।तेस्रो नम्बरमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । बजार पूँजीकरण १ खर्ब ५१ अर्ब ५० करोड रुपैयाँ छ ।
चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । नबिलको १ खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।बजार पूँजीकरणका आधारमा पाँचौँ नम्बरमा छ, नागरिक लगानी कोष । कोषको कूल बजार पूँजीकरण १ खर्ब ३ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
नेप्सेका अनुसार छैटौँ नम्बरमा छ, एनआइसी एशिया बैंक । बैंकको कूल बजार पूँजीकरण १ खर्ब २ अर्ब ५७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।सातौँ नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । बैंकको बजार पूँजीकरण ७६ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ छ । ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । बैंकको बजार पूँजीकरण ७१ अर्ब ८१ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
यस्तै नवौँ नम्बरमा छ, एभरेष्ट बैंक । बैंकको ७१ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ बजार पूँजीकरण छ । नेप्सेका अनुसार १०औँ नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट रहेको छ । कम्पनीको कूल बजार पूँजीकरण ७१ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबर रहेको छ ।