काठमाडौं । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकहरुको नाफा घटेको रिपोर्ट सार्वजनिक भएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको छ ।
बैंकले बिहीबार सार्वजनिक गरेको रिपोर्टबाट सेयर लगानीकर्ता त्रर्सिएको देखिन्छ । नेपालको सेयर बजारमा बैंकिङ समूहको वर्चश्व छ । त्यही बैंकिङ क्षेत्रले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको नाफा घटेको देखिएको र त्यसको असर बजारमा परेको हो ।
पहिलो त्रैमासमा अधिकांश बैंकले नाफा बढाएका थिए । त्यही भएर नेपाल स्टक एक्स्चेञ्च (नेप्से) सूचक उकालोतर्फ लागेको थियो । तर, दोस्रो त्रैमासमा बैंकको नाफा घटेकाले बजारमा त्यसको नकारात्मक असर परेको देखिएको छ ।
साताको अन्तिम दिन बिहीबार १६.५५ अंकले बजार घटेर २४२५.२९ अंकमा आइपुगेको छ । प्रि–ओपन सेसनमा बजार बढेर २४६० पुगेपछि ११ बजेपछि पुनः बजार ओरालो लागेको थियो । २४६० मा पुगेको बजार ११ बजेर ७ मिनेटमै २४४२ अंकमा ओर्लिएको थियो । त्यसपछि बजार केही सम्हालिन खोजेको देखिएको थियो । त्यो पनि टिकेन । ११ बजेर २० मिनेटमा बजार पुनः बढेर २४५७ अंकसम्म पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेको बजार पुनः २४३५ अंकमा आइपुगेको थियो । तर, बजार बन्द हुने बेलामा बजार घटेर २४२५ अंकमा आएर रोकिएको हो ।
निर्जीवन, उत्पादनमूलक र माइक्रोफाइनान्सले बजार टिकाउने प्रयास गरे पनि त्यो असफल देखियो ।
बैंकप्रति लगानीकर्ताको वितृष्ण आइतबार पनि कायम रहन्छ । बैंकले मात्रै नेपालको सेयर बजारमा ४३ प्रतिशत हिस्सा ओगटेको अवस्था छ । यही क्षेत्रको वित्तीय विवरण राम्रो नभएकाले बजारमा असर परेको देखिएको छ ।
बिहीबार तीन उपसूचक बाहेक सम्पूर्ण सूचक घटेका छन् । बैंकिङ सूचक २.३४ अंकले घटेको छ । त्यसैगरी, होटल विकास बैंक, हाइड्रोपावर, फाइनान्स पनि १ प्रतिशतभन्दा बढी घटेका छन् । तर, निर्जीवन बिमा, उत्पादनमूलक र माइक्रोफाइनान्स क्रमशः ३ प्रतिशत, २ प्रतिशत र २ प्रतिशतले बढेका छन् ।
बजार दोहोरो अंकले घट्दा पनि कारोबार रकम हालसम्मकै उच्च छ । यसअघि ९ अर्ब ३७ करोड रुपैयाँ कारोबार भएर नयाँ रेकर्ड बनेको थियो बिहीबार त्यसलाई तोड्दै ९ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसलाई हेर्दा बजार घट्नेभन्दा पनि बढ्ने संकेत देखिन्छ ।