पदयात्रा पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,१०:५३:AM  
पदयात्रा पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह 

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चलले साहसिक पदयात्रा पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गरेर निकास दिन सरकार समक्ष आग्रह गरेको छ । 

टानले अध्यक्ष सुशीलराज पौडेलले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण नेपालको पदयात्रा पर्वतीय पर्यटन सहित समग्र पर्यटन उद्योग नै धराशायी भएको उल्लेख गर्दै यस क्षेत्रका समस्यालाई यथोचित सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो  ।

“कोभिड–१९ को महामारीका कारण हामी पर्यटन व्यवसायीहरूलाई परेको समस्याका बारेमा बारम्बर नेपाल सरकार र सरकारका विभिन्न नियकाहरूसँग लिखित र मौखिक रूपमा राखेर सम्बोधनका लागि अनुरोध गर्दै आयौंँ, तर पनि सरकार हाम्रो समस्यामा गम्भीर बनेको छैन,  हामी पुनः आग्रह गर्छौ साहसिक पदयात्रा पर्यटन व्यवसायीहरूलाई परेको पीरमार्कालाई सम्बोधन गरीयोस् र  थला परेको पदयात्रा ब्यवसायलाई पुनर्जीवन प्रदान गरियोस् । ” 

त्यसैगरी नेपाल सरकारद्वारा जारी गरिएको तर समयसापेक्ष परिमार्जन नगरिएको नेपाल आगमनको लागि  भिसा र स्वास्थ्य प्रोटोकलले पर्यटकलाई समस्या उत्पन्न भइरहेको पनि ध्यानाकर्षण गरिएको छ । नेपालको समग्र पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि पदयात्रा पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायी एवं संस्थाको तर्फबाट सुझावसमेत प्रस्तुत गरिएको छ । 

सुझावमा ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरूका हकमा ५ दिनसम्म अनिबार्य क्वारेन्टीनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अन अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरूबाट भिसाको सहजीकरण ब्यवस्था पूर्ववत रूपले झैं गराउन भनिएको छ ।  

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल रिपोर्ट दिन सकिने कोभिड जाँच मेशिन राख्नु पर्ने वा तोकिएको स्वास्थ्य निकायबाट नमुना सङ्कलन गर्नुपर्ने र अन्तर्राष्ट्रिय हवाई उडानहरू यथाशीघ्र खोल्न पहल गर्नुपर्ने सुझावमा समेटिएको छ । 

कोरोना विरुद्धको भ्याक्सिन प्राथमिकताका साथ अग्रपंक्तिमा रही काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरूलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरू यथाशीघ्र खोल्न पहल गर्न पनि उल्लेख गरिएको छ । 

त्यसैगरी नेपाल घुम्न आउने पर्यटकहरूले साहसिक पदयात्रामा जॉदा पर्यटक सुरक्षाका कारण कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनुपर्ने ब्यवस्था लागू गर्न भनिएको छ । 

छिमेकी देशको नाकाबाट भित्रिने पर्यटकलाई सहज बनाए अनुगमन गर्न र हाल कायम रहेको पर्यटकहरूले गर्नुपर्ने कम्तीमा ५ हजार अमेरिकन डलर बराबर तोकिएको अनिबार्य कोरोना बिमा ब्यबस्था हटाउन र खोप लगाएका पर्यटकलाई  सहज र निर्वाध रुपमा घुम्न दिन आग्रह गरिएको छ । 

गण्डकी प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा व्यवसायी जीवन रक्षा कोषको उद्देश्यलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नका लागि अति प्रभावित पदयात्रा व्यवसायलाई प्राथमिकतामा राख्नसमेत जोड दिइएको छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top