काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको दिन अर्थात पुस ५ गते ९६.८८ अंकले (१९३५.६४) घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार के हुन्छ ? भन्ने सबै लगानीकर्ताबीच जिज्ञासा बढेको छ ।
मंगलबार संसद पुनःस्थापना हुन्छ कि हुँदैन । देशमा संकटकाल लाग्छ कि भन्ने अफवाहका कारण नेप्से दोहोरो अंकले घटेर बन्द भयो । सोमबार पनि बजारमा नकारात्मक सन्देश प्रवाह भएकाले बजार दोहोरो अंकले घटेरै बन्द भएको थियो ।
तर, मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई उल्ट्याउँदै संसद् पुनःस्थापना गरिदिएपछि सबै लगानीकर्ताले बजार बढ्ने अपेक्षा गरेका छन् । संसद् विघटन गरेपछि देश अस्थिरतातर्फ धकेलिएको भन्दै बजारमा ठूलो पहिरो गएको थियो । तर, अब संसद् पुनःस्थापनाले सेयर लगानीकर्तालाई ठूलो आत्मविश्वास दिलाएको देखिन्छ ।
खासगरी सामाजिक सञ्जालमा बुधबार बजार ‘बुम’ हुने हल्ला चलिरहेको छ । सेयर लगानीकर्ताले सामाजिक सञ्जालमा बनाएका ग्रुपमा त्यस्ता खाले सन्देश प्रवाह गरिरहेका छन् ।
सोमबार र मंगलबार सेयर लगानीकर्ताहरु पनि संसद के हुन्छ भन्नेमा थिए । त्यही भएर केही लगानीकर्ताले यहीबीचमा नाफा बुक गरिहालौ भने केही सेयर बेचेको अवस्था पनि छ ।
एकातिर नाफा बुकको चक्करमा सेयर बेच्ने र नयाँ लगानीकर्ता तत्काल लगानी नगर्ने सोच बनाएकाले बजार दोहोरो अंकले घटेको थियो । अब त्यस्तो अवस्था नरहेको लगानीकर्ताहरु बताउँछन् ।
बुधबारबाट बजारले आफ्नो लय समाउने सम्भावना छ । देशभित्र हुने सामान्य घट्नाले सेयर बजार प्रभावित हुन्छ । त्यही भएर सेयर बजारलाई अति सम्वेदनशील पनि मानिन्छ ।
पछिल्ला केही दिन यता विकसित भएको राजनीतिक घटनाक्रमले सेयर बजारलाई प्रभावित बनाइरहेको छ । तर, अब संसद पुनःस्थापना भएपछि बजार पुन आफ्नै रफ्तारमा अघि बढ्ने देखिन्छ ।