काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धनका लागि कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
एमओयूमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बिहीबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन ।
दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवम बैंकहरूबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्नेछ ।
एमओयू हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्बोधन गर्नेछ’ अध्यक्ष गोल्छाले भने ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति थियो । बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भैसकेको उनले जानकारी दिए ।
महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओसमेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए ।
अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकोले उनीहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अब त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।