काठमाडौं । निर्यात गर्ने प्रमुख उद्देश्य राखेर स्थापना गरिएको ट्राइकोट इन्डष्ट्रिजले चालू आर्थिक वर्षमा २५० जनालाई तालिम प्रदान गर्ने भएको छ । युकेएडको आर्थिक सहयोगमा ट्राइकोटले तालिम दिन सुरु गरेको उद्योगका प्रबन्ध निर्देशक शक्ति गोल्यानले जानकारी दिए ।
देशभित्र रहेको स्वीटर उद्योगलाई आवश्यक जनशक्तिको चरम अभाव छ । त्यसलाई पूर्ति गर्न पहिलो चरणमा ट्राइल फेजमा २५० जनालाई तालिम दिन लागेको उनले जानकारी दिए ।
‘नेपालका अधिकांश स्वीटर बनाउने उद्योगमा दक्ष जनशक्ति छैनन्,’ गोल्यानले भने, ‘नेपालमै भएका जनशक्तिलाई दक्ष बनाउन युकेएडको ५० प्रतिशत आर्थिक सहयोगमा तालिम दिन सुरु गरिएको हो ।’
तालिममा सहभागी सबैलाई सरकारले तोकेअनुरुप न्यूनतम तलब सुविधा दिइनेछ । त्यो भनेको एउटा तालिममा सहभागीले १३ हजार ४ सय ५० रुपैयाँ पाउँछ । तालिममा सहभागीले पाउने तलबको ५० प्रतिशत युकेएडले रिफन्ड गर्छ । त्यसबाहेक तालिमका लागि आवश्यक सम्पूर्ण संरचना बनाउँदा लाग्ने खर्चको पनि ५० प्रतिशत फिर्ता दिने गरी सम्झौता भएको उनको भनाइ छ ।
युकेएडले तालिम दिनका लागि ८० देखि ९० लाख रुपैयाँ बजेट दिएको छ । यसले उद्योगलाई धेरै सहयोग मिलेको गोल्यानले बताए । यसले एकातिर उद्योगको उत्पादनमा पनि सुधार भइरहेको छ भने अर्कोतिर कोभिडको समयमा पनि रोजगारीको सिर्जना भइरहेको छ ।
कोभिडभन्दा अघि नै युकेएडसँग सम्झौता भइसकेको थियो । तर, कोभिडका कारण तालिम रोकिएको थियो । अहिले सुचारु भइसकेको छ । तालिम दिएकामध्ये ८० प्रतिशतलाई ट्राइकोटले आफैंले रोजगारी दिन्छ ।
नेपालका स्वीटर बनाउने उद्योग धेरै छन् । युकेएडले ट्रायल फेजमा टे«निङ सुरु गरेको हो । यो सफल भएको अवस्थामा उनीहरुले ठूलो परिमाणमा नेपालीलाई तालिम दिँदै छन् । जहाँबाट दक्ष कामदार बाहिर आउँछन् । नेपालका भएका सम्पूर्ण उद्योगले दक्ष जनशक्ति लिन सक्छन् ।
त्यहाँ सहभागिलाई सकेसम्म नेपालीले नै तालिम लिने छन् । विशेष किसिमको तालिम दिन परेमा मात्रै भारतबाट एक दुई जना ट्रेनर आउँछन् । उद्योगले स्थानीयस्तरमा रहेका महिलालाई पहिलो प्रथामिकतामा राखेर तालिम दिइरहेको छ ।