काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार बिहीबार एकाएक ‘बाउन्सव्याक’ भएको छ । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९०.६७ अंकले बढेर २५००६. ६८ मा रोकिएको छ । सेयर कारोबार भएको ३ दिन आइतबार, मंगलबार र बुधबार घटेको छ । सोमबार र बिहीबार बढेको छ ।
५ दिनको कारोबारमा घट्ने रफ्तार र बढ्ने रफ्तार करिब उस्तै देखिन्छ । आइतबार करिब ८० अंकले घटेको बजार सोमबार ४० अंकले बढेको थियो । मंगलबार ६० अंकले घटेको बजार बुधबार ३९ अंकले घटेको थियो । बिहीबार २४१५ अंकबाट सुरु भएकोमा निरन्तर बढ्दै गएको देखिन्छ । कारोबारको १५ मिनेटमै सूचकले २४६२ अंक छोएको थियो ।
त्यसपछि केही घटेर आधा घण्टामा २४३६ मा झरेको थियो । त्यसपछि फेरि बढ्न थालेका बजार २४७६ अंकसम्म चलेको थियो । यतिबेला कारोबार सुरु भएको एक घण्टा बितिसकेको थियो । त्यसपछि बजारले पुनः घट्ने ट्रेन समाउन खोज्यो । बुधबारकै जस्तो शैली पन्छ्याउन खोजेको बजारले लगानीकर्तामा एकखालको प्यानिक अवस्था सिर्जना गरिरहेको थियो ।
तर, त्यसपछि भने बजारले पछाडि फर्कनुपरेन र २४९८ अंकसम्म चढ्यो । कारोबार सुरु भएको २ घण्टापछि बजार फेरि करेक्सनको बाटोमा जाने संकेत देखाए पनि त्यसले निरन्तरता पाएन । सेयर बजार सूचक निरन्तर उकालो लाग्दै २५०० अंक पार गर्यो । एकैदिन ९० अंकभन्दा बढीले बजार बढेको यो तेस्रो पटक हो ।
बिहीबार नेप्सेमा वर्गीकृत सबै समूह सूचकहरु उकालो लागेका कारण बढ्न पुग्यो । तर, कारोबार रकम भने केही खुम्चिएको छ । बिहीबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार भने ६ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो । यो साता सूचकमा गिरावट देखिए जस्तै कारोबार रकममा पनि गिरावट देखिएको छ ।
यो पनि हेर्नुहोस
साना लगानीकर्ता अतालिँदा सेयर बजार झनै ‘डिटेरियोरेट’, बिहीबार फर्किएला त ?
कारोबार रकमलाई हेर्दा आगामी साता बजार बढ्नलाई अझै मेहनत गर्नुपर्ने अवस्था छ । तर, लगानीकर्ताहरुले यसअघिको करेक्सनलाई ‘बुल’ अघिको संकेतको रुपमा व्याख्या गर्दै अब २८०० अंक माथि चढ्ने हौवा पिटाउन थालेका छन । यसअघि पनि गत साताको मंगलबार प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बजार करेक्सनमा जाने र २३५० अंकसम्म फकर्ने आँकलन गरेका थिए ।
जसले गर्दा बजार सूचक अझै घट्छ भन्ने त्राशमा साना लगानीकर्ताहरु ‘प्यानिक सेल’को दवावमा परेका थिए । विगतमा जसरी बजार बढ्यो, त्यही शैली घट्ना थाल्यो, बिहीबार पुनः बढेको छ । यसका पछाडि कुनै कारण छैन । बजारमा चलायमान अनेकन अफावहालाई पच्छाउँदा लगानीकर्ता मनोवैज्ञानिक दवावमा मात्र परेका हैनन् ।
केही ठूला लगानीकर्ता र सीमित धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले बजारबाट हात झिक्दा पनि छरिएर रहेका लगानीकर्ताहरु यसलाई स्थिरता दिन खोजेको आभाष हुन्छ । बिहीबार सरकार र प्रतिबन्धित विप्लव समूहसँगको सहमति, नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने तयारीका हल्ला र लामो घटाइपछि नाफा बुक गरेर बजारबाट निस्किएका लगानीकर्ता पुनः प्रवेश गर्दा बजारले उचाइ लिएको हो ।
यी लगानीकर्ताले अब आफ्नो नाफा बुक हुने चरणसम्म पर्खिराख्ने र अन्य लगानीकर्ताहरु पनि विगतको नाफाबाट बाहिरिए फेरि बजारम प्रवेश गर्ने संभावना रहँदा थप बढ्ने आँकलन गरिएको छ । सामाजिक सञ्जालहरुमा बजार २८०० देखि ३००० हजार अंकको बीचमा पुग्ने ब्यापक हल्ला चलाउन थालिएको छ ।
गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको पहिलो आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक छ । नयाँ सरकार कस्तो बन्छ भन्ने अन्यौल जारी छ । यस्तो वातावरणमा सेयर बजार बढ्ने वा घट्ने कुनै करण केही पनि छैन ।
बिहीबार चन्द्रागिरी हिल्स, लिवर्टी इनर्जी कम्पनी र सूर्यौदय लघुवित्तको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ । यसदिन अधिकांश म्युचुअल फण्ड, डिवेञ्चर, युनिलिभरसहित १३ वटा कम्पनीहरुको सेयर मूल्यमा सामान्य गिरावट आएको छ ।
करिब १० प्रतिशत सेयर मूल्य बढेको नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी ५३ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसलाई पच्छाइरहेको शिखर इन्स्योरेन्सको २४ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।