दोलखा (सुन्द्रावती) । दोलखास्थित सुन्द्रावतीका डिल्लीप्रसाद पकुवाल तरकारी तथा फलफूल व्यापारी हुन् । त्यसका अलवा उनको इलेक्ट्रोनिक पसल पनि छ ।
किसानले फलाएको तरकारी किन्ने र कालिन्चोक गाउँपालिका वरिपरिका बजारमा बेच्ने पकुवालको दैनिकी हो । इलेक्ट्रोनिक पसल भएकाले छिटफुट व्यापार त्यता पनि हुन्छ । दुईवटा व्यापारमा उनको राम्रो दख्खल छ ।
एक वर्ष अघिसम्म उनले नयाँ सिजनमा कुन तरकारी आउँदै छ ? किसानले बारीमा के–के फलाएका छन् ? त्यसको उत्पादन लागत कति पर्छ भन्नेमा पकुवालको ध्यान बढी केन्द्रित हुन्थ्यो । तर, अहिले पाँच जना युवा जम्मा हुने बित्तिकै सेयर बजारका बारेमा विश्लेषण, आफूले किन्न लागेको स्क्रिप्टमाथि छलफल सुरु हुन थालेको छ ।
पकुवाल विगत एक वर्षदेखि सेयर बजारमा सक्रिय छन् । खासगरी नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) देखि उनले सेयर बजारमा चासो लिन थालेका छन् । कम्पनीबाट राम्रो नाफा कमाएपछि त्यसको स्वाद राम्रोसँग चाखे पकुवालले ।
त्यसपछि उनी आईपीओबाट दोस्रो बजारमा प्रवेश गरे । अहिले उनले ८ लाख हाराहारी सेयर लगानीको पोर्टफोलियो बनाइसकेका छन् । उनले आलु तथा काउली बेचेर कमाएको पैसा सेयर बजारमा लगाएका छन् ।
यस्तै एम्बुलेन्स चालक कुमार थामी पनि सेयर बजारमा सक्रिय छन् । बिरामी नहुँदा दिनभर एम्बुलेन्स थन्किएर बसिरहेको हुन्छ । तर, कुमार फुर्सदको समयमा सेयर बजारमा चासो लिने, प्रतिसेयर आम्दानी (ईपीएस), नाफा तथा नोक्सानलगायतका बारेमा अध्ययन गरिरहेका हुन्छन् ।
उनले एम्बुलेन्सबाट मासिक रूपमा कमाएको पैसा सेयर बजारमा लगानी गरेका छन् । बैंकबाट आउने ब्याज निरन्तर घटिरहेकाले थामीको रोजाई बैंकभन्दा सेयर परेको हो । उनी पनि दोस्रो बजारमा सक्रिय छन् ।
आईपीओ नपरेर हैरान परेपछि थामी दोस्रो बजारमा छिरेको ८ महिनाभन्दा बढी भइसक्यो । अहिले उनीसँग १ लाख रुपैयाँभन्दा बढीको पोर्टफोलियो छ ।
गत असारबाट अनलाइन कारोबार ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) प्रभावकारी रूपमा कार्यान्वयनमा आएपछि गाउँ–गाउँमा सेयरसम्बन्धी चासो लिनेको संख्या ह्वात्तै बढेको सुन्द्रावतीका युवा तथा सेयर लगानीकर्ता पकुवाल बताउँछन् ।
किसानलाई तिर्नुपर्ने पैसा सेयरमा लगानी गर्दा......
किसानसँग उधारोमा तरकारी ल्याएर बेचेका डिल्लीले छोटो समयमै नाफा कमाएर उनीहरूलाई भुक्तानी गरौंला भनेर सेयरमा लगानी गरे । तर, आफूले किनेको स्क्रिप्ट निरन्तर ओरालो लागेपछि किसानलाई कसरी भुक्तानी गर्ने भनेर पिरोलेको छ ।
‘भएभरको पैसा सेयरमा लगानी गरिसकियो,’ पकुवालले भने, ‘हप्तादिनमै बेचेर नाफा कमाउला र किसानलाई भुक्तानी गरौंला भन्ने सोचको थिए । बजार ओरालोतिर लागेकाले अप्ठयारो पार्यो ।’
अहिले आलू उत्पादन गर्ने किसानको १२ हजार, अलैंची उत्पादन गर्ने किसानको ७ हजार, फलफूल बेच्नको १५ देखि २० हजार रुपैयाँ तिर्नुपर्ने दिन आइसक्यो । न घाटामै रहेको सेयर बेच्नु न ऋण खोज्नु बनाएको छ ।
हरेक गाउँका युवालाई थाहा छ ईपीएस
सेयर किन्दा के–के कुरालाई हेर्नुपर्छ, त्यो सबै थाहा छ गाउँका युवालाई । ईपीएस, आरओई, बुक भ्यालु, राइट सेयरलगायतका बारेमा उनीहरू जानकार छन् ।
प्रत्येक १० मिनेटमा नेप्से र टीएमएस रिफ्रेस
कतिखेर ११ बज्ला बनेर गाउँका हरेक युवा कुरिरहेका हुन्छन् । १० बजे नै बजार किन नखुलाउने भनेर उनीहरू आवाजसमेत उठाउँछन् । ‘काममा जानुपर्ने बेला भइसक्दा पनि बजार खुल्दैन । एक पटक बजारका बारेमा अपडेट त लिएरै जानु पर्यो,’ सेयरमा सक्रिय राजु भन्छन् ।
उनले बजार खुलेको ३० मिनेटमा झण्डै २० पटक टीएमएस र नेप्सेको साइट रिफ्रेस गरे । आफ्नो सम्पूर्ण काम छाडेर भए पनि उनीहरूको पहिलो काम सेयरका बारेमा अपडेट लिनु बनेको छ ।