काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेसँगै बजारमा मास्कको माग बढ्दो छ । संक्रमणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।
तर, केही व्यापारीले त्यसैको फाइदा लिँदै मास्कको कृतिम अभाव गराएर मूल्य बढाएका छन् । सरकारले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क प्रयोग गर्न निर्देशन दिएसँगै प्रहरीले समेत कडाई गरेको थियो । जव, प्रहरीले मास्क नलगाउनेहरुलाई होल्डिङ सेन्टरमा राखेर कारवाही गर्न थालेपछि सबैले मास्क लगाउनु सुरु गरेका थिए ।
मास्कको अनिवार्य गराएसँगै उद्योगीहरुले होलसेल मूल्यमा २५ देखि ५० पैसासम्म मूल्य बृद्धि गरेका छन् । उनीहरुले कच्चापदार्थको मूल्य बढेको बाहना बनाएर अहिले मास्कको मूल्य बृद्धि गराएका छन् । तर, जब बजारमा मास्कको अभाव भयो तब उद्योगीले मूल्य बढाएको पाइन्छ । यसबाट पनि उद्योगीहरुको स्वार्थ रहेको देखिन्छ ।
यति मात्र हैन, बजारमा खुद्रा मूल्यमा समेत अर्को लुट छ । खुद्रा मूल्यमा प्रति मास्क १० रुपैयाँ लिने गरेका छन्, व्यापारीहरुले । उद्योगीहरुबाट २ रुपैया ५० पैसामा किनेको मास्क खुद्रा बजारमा १० रुपैयाँमा बिक्री गर्दा समेत सरकारी निकाय आखा चिम्लिएर बसेका छन् । अहिलेसम्म यस विषयमा कुनै अनुगमण नहुँदा विक्रेताहरुले खुलेआम उपभोक्ताहरुलाई ठग्दै आएका छन् ।
यस विषयमा अनुगमण गर्ने सरकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कको कालोबजारी गर्नेहरुलाई बेवास्था गर्दै आएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले बिहीबारबाट अनुगमन सुरु गरिएको बताए । तर, अनुगमनका क्रममा उद्योगीहरुले मास्कमा प्रयोग हुने तुनाको मूल्य बढेकोले आफूहरुले पनि मूल्य बढाएको बताएपछि त्यसको आयात शुल्क हेर्न लागिएको उनको भनाई छ । सुरुमा उद्योगको अनुगमन गरेपछि मात्र खुद्रा बजारमा अनुगमन गरी दोषी देखिए कारवाही गर्ने उनले बताए ।