पोखरा । आइतबार पोखरा सभागृह खचाखच थियो । कुनै धमाकेदार प्रस्तुति भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । बिल्कुल फरक कार्यक्रममा मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट थियो ।
मानवसेवा आश्रमको ७ औं वार्षिकोत्सवका अवसरमा मानवसेवा आश्रमको शाखा कार्यालय पोखराको आयोजनामा आमा सेमिनार भएको थियो । सडकमा रहेका आमा बाबाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व बोध गराउन र समाजमा सकारात्मत्मक सन्देस दिन उक्त कार्यक्रम आयोजना गरेको संस्थाका गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले बताए ।
मातृभूमि, मातृत्व तथा आमा बाबाको सम्मानमा आयोजना गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले जन्मदाताहरु सडकमा पुग्नु र सन्तानले जिम्मेवारी वोध नगर्नु सबैभन्दा दुर्भाग्य भएको बताए । संवेदना हराइरहेको समाजमा मानवीय कर्ममा जुटेकाहरुको प्रयासले समाजमा सकारात्मक रुपान्तरणमा भूमिका खेल्न सेमिनार सफल भएको उनको भनाइ थियो । सामाजिक विकासमन्त्री नरदेवी पुनले समाजमा सकारात्मक रुपान्तरण हुने र यस्ता कार्यक्रमलाई देशभरि लान जरुरी भएको धारणा राखिन् ।
सेमिनारमा प्रदेशसभा सदस्य कृष्ण थापा, मीना गुरुङ, प्रभा कोईराला, धनञ्जय दवाडी , पोखरा महानगरपालिका वडा १७ का अध्यक्ष तीर्थराज अधिकारी, २५ का शोभाखर तिम्सिना, ९ का राजाराम लामिछानेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आमाप्रतिको गरिमा सम्मानमा युवा पुस्ताबाट थालिएको प्रयास निकै सराहनीय भएको बताए । यस कार्यक्रमले सन्तानलाई जिम्मेवार बनाउन सन्देश दिएको उनीहरुको भनाइ थियो ।
.jpg)
सेमिनारमा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएका संस्थाका अध्यक्ष रामजी अधिकरीले आमाको महत्त्व र महिमा सन्तानको जिम्मेवारी र सामाजिक दायित्वको विषयमा धारणा राखेका थिए ।
आमाका विषयमा वाचन गरिएका कविता र गीतले सभामा उपस्थित सबैका आँखा रसाएका थिए । आमाप्रतिको माया र सम्मान बढाउने यस कार्यक्रममा सहभागी भएर धेरै ज्ञान लिन पाएको सहभागी २८ वर्षीय धनिराम गौतमले प्रतिक्रिया दिए ।
सेमिनारको सभाध्यक्ष मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द्र टण्डनले ‘एक सुन्दर आमा’ कार्यक्रमले मानवीयता प्रवदर््धनका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यसको व्यापकता र मानवसेवा आश्रमको लक्ष्य २०८२ सहयोगापेक्षी बेवारिसे सडक मानवमुक्त नेपाल निर्माणको सेतुका रुपमा लिइएको बताए । जमुना वर्षा शर्मा/रासस