काठमाडौं। नेपाल राष्ट्र बैंकको ‘लेटरहेड’ बाट लेखिएको एउटा पत्रले यतिबेला वित्तीय क्षेत्रमा हलचल मच्चिएको छ।
केन्द्रीय बैंकको डेपुटी गभर्नरको कार्यालयबाट लेखिएको उक्त पत्रमा ७० हजार बेलायती पाउन्ड (१ करोड २५ लाख रुपैयाँ) झरना पुनको प्रभु बैंकमा रहेको खातामा हालिदिनू भन्ने बेहोरा उल्लेख भएको पत्रले वित्तीय क्षेत्र तरङ्गित भएको हो।
फागुन १६ गते राष्ट्र बैंकबाट लेखिएको उक्त पत्रमा झरना पुनको प्रभु बैंकमा रहेको खाता नम्बर १११००८८७८६१०००११ मा पैसा हालिदिनू भन्ने बेहोरा उल्लेख छ। उक्त खाता नम्बर झरना पुनको सक्कली खाता नम्बर नै हो। पत्र हेर्नेबित्तिकै नक्कली हो भन्ने बुझ्न गाह्रो छैन। तर, राष्ट्र बैंकको लेटरहेड प्रयोग हुँदा मानिसहरू सक्कली नै हो भन्ने निष्कर्षमा पुग्न सक्छन्।
उक्त पत्रमा राष्ट्र बैंकको डेपुटी गभर्नरको कार्यालय उल्लेख गरिएको छ तर कुन डेपुटी गभर्नरको कार्यालय हो भन्ने उल्लेख छैन। सामान्यतया यस्तो बेला कुन डेपुटी गभर्नरको कार्यालय हो भन्ने उल्लेख गरिएको हुन्छ।
साथै, पत्र बुझ्ने व्यक्ति सानिमा बैंकको चिफ डिपोजिट अफिसर कृष्ण विवेक हुन्। जबकि, सानिमा बैंकमा कृष्ण विवेक नाम गरेका कुनै पनि व्यक्ति कार्यरत छैनन्। त्यतिमात्रै होइन, पत्रमा उल्लेख गरिएको काठमाडौं शाखा भन्ने कुरा पनि बैंकका हकमा लागू हुँदैन किनभने बैंकहरूले कुन ठाउँमा कुन शाखा छ, त्यही ठाउँको नाम राखिएको हुन्छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिृकत (सिइओ) निश्चलराज पाण्डेका अनुसार कृष्ण विवेक नाम गरेका कुनै पनि कर्मचारी बैंकमा छैनन्।
‘हाम्रो बैंकका चिफ डिपोजिट अफिसर सरोज गुरागाईं हुनुहुन्छ,’ सिइओ पाण्डेले क्यापिटल नेपालसँग भने।
पत्रमा ५ लाख ६० हजार रुपैयाँ हस्तान्तरण शुल्क कटाएर बाँकी रकम भुक्तानी गर्नू भनिएको छ। जबकि, यस्ता रकम भुक्तानी हुँदा कति रकम भुक्तानी गर्नुपर्छ भन्ने विषय सामान्यतया उल्लेख हुँदैन। त्यस्तै यस्तो पत्र राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर वा कार्यकारी निर्देशक तहबाट लेखिँदैन।
बैंकहरूलाई पत्र लेख्दा जहिले पनि सहायक निर्देशकले पत्र लेख्ने गर्छन्। रमाइलो कुरा, उक्त पत्रमा राष्ट्र बैंकको कुन कर्मचारीले आधिकारिकरूपमा पत्राचार गरेका हुन् भन्ने उल्लेख छैन।
तर, कृष्ण विवेकले हस्ताक्षर गरेको ठाउँमा डेपुटी गभर्नरको कार्यालयको छाप लगाइएको छ। यसमा राष्ट्र बैंकको लेटरहेड आधिकारिक हो वा होइन अथवा यस्ता आधिकारिक लेटरहेडको दुरुपयोग कसरी हुने गर्छ भन्ने पनि यो पत्रले उजागर गरिदिएको छ।