काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चार वर्षअघि (२०७८ माघमा) करिब ४० वर्ष उमेर हाराहारीको महानिर्देशकका रुपमा प्रदिप अधिकारीलाई पाइरहँदा धेरैले परिवर्तनको आशा र अपेक्षा मात्र हैन युवाले अवसर पाउन थालेको चर्चा चुलिएको थियो।
जोखिममा रहेको भनिएको मुलुकको हवाई उड्डयन क्षेत्रमा आवश्यक नियामकीय नियमहरु कडाई हुँदै जाने र लामो समयदेखि युरोपियन युनियन (ईयु)ले नेपाली आकाशलाई राख्दै आएको कालोसूची हटेर नेपाली जहाज युरोपका मुलुकमा पुग्ने अपेक्षासमेत धेरैले गरेका थिए।
अस्तव्यस्त रहेका विमानस्थल राम्रोसँग सञ्चालनमा आउने र विश्वमा कहलियएका विमानस्थल जस्तै नेपालका विमानस्थलले पनि त्यही खालको पहिचान बनाउँछ भन्ने आशा लिएका थिए।
राज्यले अर्बौं रुपैयाँ ऋण लिएर बनाएको दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुने र करोडौँ लगानी गरेर बन्द अवस्थामा रहेका आन्तरिक विमानस्थलहरुमा पनि जहाज जाने आशा थियो।
आन्तरिक एवं बाह्य क्षेत्रमा उडान गर्ने एयरलाइन्स विदेशी एयरलाइन्सलाई प्रतिस्पर्धात्मक बन्न सक्ने खालका नीतिहरु सरकारसँग समन्वय गरेर प्राधिकरणले बनाउने र विदेशी भूमिका प्रतिस्पर्धात्मक ढंगबाट नेपाली जहाज जान्छ, भन्ने कल्पना धेरैले गरेका थिए। प्राधिकरणभित्र हरेक महानिर्देशकको पालामा हुने कर्मचारीहरुको गुटबन्दी र असन्तुष्टिहरु प्रदिपको पालामा टुंगिन्छ, र कर्मचारीहरु पनि सन्तुष्ट भएर सेवा गर्छन भन्ने आशा धेरैले गरेका थिए।
तर, यी सबै आशा, अपेक्षा र भरोसामा केवल कल्पनामा मात्र रह्यो। अर्थात, करिब चार वर्षअघि नियुक्ति लिँदै गर्दा धेरै युवा वर्गले जुन आशा र भरोसा महानिर्देशक अधिकारीमाथि गरेका थिए। त्यो पूरा हुन सकेन। जसका कारण प्राधिकरणभित्र मात्र हैन आम युवाहरुमा निराशा छाउन थालेको छ। धेरैले भन्ने बाटो पनि खुल्ला भएको छ कि युवालाई नेतृत्व गर्न दिएर मात्र परिवर्तन हुँदो रहेछ त?
१० अर्ब भ्रष्टचार आरोपको भारी
महानिर्देशक अधिकारीलाई अहिले सबैभन्दा बढी टाउको दुखाई बनेको प्रमुख विषय हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लेखा समितिको उपसमितिले बनाएको छानविन प्रतिवेदन। प्रतिवेदनमा उनीसहितका पूर्व र वर्तमान कर्मचारीहरुको थाप्लोमा १० अर्ब रुपैयाँ खाएको आरोप छ।
प्रतिवेदनमा आएको विषय पुष्टि होला–नहोला तर उनीमाथि लागेको यो दाग मेटाउन निकै मुस्किल छ। अदालतबाट दोषी वा निर्दोश करार जे भए पनि सामाजिक रुपमा उनलाई १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागिसकेको छ। अहिले चिया पसलमा होस् वा विमानस्थलमा जहाँ पनि विमानस्थल निर्माण गर्दा १० अर्ब भ्रष्टचार गरेको आरोप छ। त्यो पनि ऋण लिएको पैसा भनेर नेतृत्वको उछिटो काट्दै गरेको सुनिन्छ।
जुन उनका लागि सबैभन्दा ठूलो दुर्भाग्य हो। अझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन हुन बाँकी छ। सो विमानस्थल निर्माणको क्रममा पनि महानिर्देशक अधिकारीको प्रत्यक्ष संलग्नता रहेकाले केही न केही आइ हाल्छ। हाल लेखा समितिका सदस्य रहेका पूर्वपर्यटनमन्त्री प्रेम आले सार्वजनिक रुपमै पोखराभन्दा ठूलो भ्रष्टचारको काण्ड भैरहवामा भएको भनिरहेका छन्। गौतमबुद्ध विमानस्थलमा पनि संसदको लेखा समितिको उपसमितिले अध्ययन गर्ने तयारी थालिरहेको छ।
दुई अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरे, सञ्चालन गर्न सकेनन्
पूर्वमहानिर्देशकहरु लामो समयदेखि निर्माण हुँदै आएको पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न नसकेकोे आरोप खेप्दै बिदा हुने गरेका थिए। तर, महानिर्देशक अधिकारीको संयोग यस्तो बन्यो, जहाँ उनी नियुक्त भएको केही महिनापछि धमधाम दुई अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न पाए।
हुन त उनी महानिर्देशक हुनुअघि राष्ट्रिय गौरवका आयोजनाहरु गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख थिए। त्यही भएर उनलाई आफू महानिर्देशक भएलगत्तै उद्घाटनको जस लिन सहज भयो। जसरी सहज रुपमा दुई अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको जस लिए। त्यसैगरी अहिले सञ्चालन गर्न नसकेको आरोप उनी आफैले खेपिरहेका छन्।
खासगरी सञ्चालन मोडालिटी तयार नगरी विमानस्थल निर्माण गरेको भन्दै नेतृत्वमाथि अहिले आरोप लागिरहेको छ। उद्घाटन भएको लामो समय भइसक्दासमेत सो विमानस्थल नियमित रुपमा चल्न सकेको छैन।
इगोको भुङग्रोमा प¥यो भैरहवा विमानस्थल
पोखराको तुलनामा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा केही उडानहरु भए। जुन अहिले पनि चालु छ। जति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि १२ घण्टा बन्द गर्ने निर्णय भयो। त्यो बेला धेरै एयरलाइन्सहरु भैरहवा सिफ्ट भए।
प्राधिकरण नेतृत्वले त्यो बेला चलाखीपूर्ण तरिकाले भैरहवामा एयरलाइन्सलाई पठाएर केही समय गुल्जारसमेत बनायो। तर, विडम्बना भैरहवा विमानस्थलका महाप्रबन्धक प्रताव तिवारी र महानिर्देशक अधिकारीबीच जुँगाको लडाईले गुल्छारको खुसीयाली लामो समय टिक्नै पाएन। जति बेला भैरहवा विमानस्थल गुल्जार हुँदै गयो। त्यो बेला प्राधिकरणको चौतर्फी प्रशंसा भयो।
त्यो प्रशंसाको जस भैरहवा विमानस्थलका महाप्रबन्धक तिवारीले एक्लौटी लिन खोजे। सामाजिक सञ्जालमार्फत होस् या विभिन्न सञ्चार माध्यममा समाचार दिएर होस् उनले म आएपछि गुल्जार बनेको सन्देश प्रवाह गर्न थाले।
जुन गतिविधि महानिर्देशक अधिकारीले सहन सकेनन्। हुन पनि प्राधिकरणको जोडबलका कारण काठमाडौंमा अवतरण गर्ने एयरलाइन्सलाई भैरहवामा पठाइएको थियो। त्यस कारण महाप्रबन्धक तिवारीले पनि एक्लौटी जस नलिएर सिंगो प्राधिकरण र महानिर्देशकको पहल हो भनिदिएको भए भैरहवामा नियमित उडानहरु हुन्थ्यो। तर, महाप्रबन्धकको एक्लौटीपनलाई सहन नसकेर काठमाडौं विमानस्थल बन्दको समय घटाएर केही उडानहरु काठमाडौंमा थप्न दिने निर्णय प्राधिकरणले ग¥यो। सबै एयरलाइन्सहरु भैरहवाबाट काठमाडौं फर्किए। हुन त, एयरलाइन्सहरु बाध्यात्मक परिस्थितिमा मात्र भैरहवा गएका थिए।
महानिर्देशक बन्दा जो–जो प्रिय बने, ती सबै अप्रिय
महानिर्देशक बन्दा जो–जो प्रिय थिए, अहिले ती सबै अप्रिय व्यक्तिको रुपमा परिसकेका छन्। अर्थात जसले महानिर्देशकका लागि सिफारिस गरे तीनै व्यक्ति अहिले प्रमुख शत्रुका रुपमा अधिकारिका लागि बनेको छ। अर्थात तत्कालिन पर्यटन मन्त्री प्रेम आले महानिर्देशक अधिकारीको सबैभन्दा विरोधीको रुपमा सदनमा देखिँदै आएका छन्।
उनले पार्टीको निर्देशनमा पार्टी सञ्चालन गर्न सहयोग पुग्ने भएकाले दबाबमा योग्यता नभएका व्यक्तिलाई महानिर्देशक बनाएको भन्दै अहिले पछुताइरहेका छन्। कुनै समय उनै मन्त्री महानिर्देशक अधिकारीको प्रिय व्यक्ति थिए। ११ औँ तहमा रहेका व्यक्तिलाई एकैपटक महानिर्देशक बनाउँदाको क्रममा मन्त्री आले र महानिर्देशक अधिकारीको दोस्ती निकै जमेको थियो।
तर, जब मन्त्रीबाट आले हटे, तब महानिर्देशक अधिकारीले उनलाई टेर्न छोडे। आफैले बनाएको महानिर्देशकले बेवास्था गर्ने र आफूले भनेको कुरा टेर्न छाडेको आभास पूर्वमन्त्री आलेलाई परेको देखिन्छ।
कहाँबाट छुट्यो पूर्वमन्त्री आलेसँगको दोस्ती
पूर्वमन्त्री आलेले महानिर्देशक बनाइरहँदा अधिकारीलाई धनगढी विमानस्थलाई स्तरउन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाई ठूला जहाज सञ्चालन गर्न सक्ने क्षमताको बनाउने प्रतिबद्धता जनाएका थिए।
त्यसका लागि आवश्यक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन एक अर्ब रुपैयाँ जोहो पनि गरेका थिए। तर, जब आले मन्त्रीबाट हटे तब महानिर्देशक अधिकारीले धनगढी विमानस्थलका लागि विनियोजन गर्ने रकम हटाइदिए।
त्यो बेला प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दिए। महानिर्देशक अधिकारीले प्रचण्डलाई फकाउनका लागि धनगढी विमानस्थलको काम रोकेर भरतपुर विमानस्थल स्तरउन्नतिका लागि भन्दै बजेट विनियोजन गरी काम सुरु गरे। जुन अहिले काम अन्तिम चरणमा पुगेको छ।
प्रेम आलेले धनगढी विमानस्थल स्तरउन्नतिका लागि बजेट विभाजन सुरु भइसकेको अवस्थामा महानिर्देशक अधिकारीले बजेट कटौती गरेको आरोप लगाउँदै उनी विरोधमा उत्रिए।
त्यति मात्र हैन त्यहाँका जनप्रतिनिधिहरुले पटक–पटक महानिर्देशक अधिकारीलाई बजेट विनियोजन गरिदिन आग्रह गरे पनि बेवास्था गरेको आरोप पूर्वमन्त्री आले निकट व्यक्तिहरुको भनाइ छ।
पूर्वमन्त्री आलेले सार्वजनिक रुपमै त्यहाँका जनताहरुलाई विमानस्थल स्तरउन्नतिको प्रतिबद्धता जनाइसकेको कारण आफूलाई महानिर्देशक अधिकारीले जनतासामू पंगु बनाएको आरोप लगाउँदै आएका छन्।
प्रदिपको दम्ब मेटाउन द्रुत गतिमा प्राधिकरण टुक्राउने विधेयक अघि बढ्यो
शक्ति केन्द्रलाई खुसी बनाउने दाउँमा अरुलाई बेवास्था गरेको आरोप लाग्दै आएको महानिर्देशक अधिकारीको चल्ता धेरै भएकाले त्यसलाई परास्त पार्नका लागि भए पनि प्राधिकरण दुई वटा बनाउनुपर्छ भन्ने आवाज बलियो बन्यो।
खासगरी एमाले, कांगेस र माओवादीभित्रका सांसदले समेत त्यसको अनुभूति गरेको कारण सबैभन्दा उत्तम विकल्प भनेको प्राधिकरण टुक्राउने र शक्ति बाँढ्ने निष्कर्षको साथ अहिले दु्रत गतिमा काम भैरहेको छ। नत्र पटक–पटक रोकिँदै आएको विधयक अहिले द्रुत गतिमा काम भइरहेको छ। सम्भवत यही अधिवेशनबाट सो विधयक पारित हुनेछ।
यसमा प्राधिकरणको हित वा अन्तर्राष्ट्रिय रुपमा मुलुकलाई ठूलो फाइदा पुग्ने भन्दा महानिर्देशक अधिकारीको शक्ति खोस्ने भन्ने प्रमुख दाउ धेरैको छ। योबीचमा महानिर्देशक अधिकारीलाई हटाउने प्रयास भए पनि शक्ति केन्द्रको प्रमुखसँग सीधा पहुँच भएकाले पर्यटन मन्त्रीले चाहेर मात्र हटाउन सक्ने स्थिति नरहेको बुझेपछि प्राधिकरण टुक्राउने विधयक अघि बढेको विश्लेषण छ।
कर्मचारी रिझाउन सकेनन्
महानिर्देशक अधिकारीले शक्ति केन्द्र मिलाउने ध्यानमा आफ्नै कर्मचारीलाई मिलाउन सकेका छैनन्। जसका कारण उनलाई जति कर्मचारी तहबाट सहयोग हुनुपर्ने हो त्यो हुन सकेको छैन। जसरी ११ औँ तहबाट एकैचोटी महानिर्देशक बनेपछि १२ औँ तहका कर्मचारीहरु र अन्य कर्मचारीहरुलाई मिलाएर व्यवस्थापन गर्नुपर्ने थियो। त्यो उनले गर्न सकेनन्। जसको कारण कर्मचारीभित्रै तीव्र असन्तुष्टि बढिरहेको छ।
‘प्राधिकरणभित्रका कर्मचारीका अनुसार महानिर्देशक अधिकारीले आफ्नो पदको भारी राम्रोसँग बोक्न सकेनन। लोकसेवा आयोगबाट परीक्षा पास भएर आएका कर्मचारीहरु भएकाले कसैले–कसैलाई धेरै मानिरहपर्छ भन्ने धारणा कोहीसँग रहेन्’ ती कर्मचारीले भने, ‘महानिर्देशक ज्यूले जस्तो व्यवहार गुर्नुभयो अरु कर्मचारीले पनि त्यस्तै गरिरहेका छन्।’
वायुसेवा सञ्चालक सुरुदेखि असन्तुष्ट
महानिर्देशक अधिकारीको कार्यशैलीमा वायुसेवा सञ्चालक सुरुदेखि रुष्ट बने। वायुसेवा सञ्चालक संघका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापासँगको लडाई त सतहमै देखियो। त्यसपछि अधिकांश वायुसेवा सञ्चालक महानिर्देशक अधिकारीसँग असन्तुष्टि व्यक्त गरिररहे। जुन अहिले पनि कायम छ।