काठमाडौं । काठमाडौ उपत्यकाकालगायत देशभरका शहरमा राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री सरकारले हटाउने भएको छ । बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापासहित सरोकारवाला निकायहरुसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काठमाडौं महानगरपालिकाभित्र तत्काल शुक्रबार देखि नै चार वटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय गरेको हो । उपत्यकाबाहेकका अन्य स्थानिय तहमा भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत कारवाही अघि बढाउने निर्णय भएको छ ।
अव्यवस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेटका तारहरु हटाउन पनि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए सरकार आफैले हटाउने भएको छ ।
बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता सामाग्रीहरु हटाउन लागेको बताए ।
यस भन्दा अगाडी नै सर्वोच्च अदालतमा समेत यस सम्बन्धमा आदेश दिईसकेको बताउँदै गृहमन्त्री थापाले सो आदेश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्र भोलिबाटनै त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।