काठमाडौं। १० महिनाअघि सञ्चालनमा आएको पाँचतारे होटल सिद्धार्थ भिलासा भैरहवाको लक्जरी होटलमध्येको एक हो। भारतीय सीमा नजिकै रहेको सो होटल पछिल्लो समय भारतीय र नेपालीहरुको रोजाइमा पर्दै गएको छ। सिद्धार्थ हस्पिटालिटी ग्रुपको पहिलो पाँचतारे होटल वेडिङ डेस्टिनेसनको हबको रुपमा विस्तार हुँदै आएको छ।
होटलका महाप्रबन्धक अरुणकुमार पुरीले १० महिनाको अवधिमा भारतीयहरुको १९ वटा विवाह सम्पन्न गरेको बताए। ‘सञ्चालनमा आएको छोटो समयमै १९ वटा विवाह सम्पन्न गराउनु उत्साहजनक विषय हो,’ महाप्रबन्धक पुरीले भने, ‘सीमा नजिकै रहेकोले भारतीयहरुको रोजाइमा परेको हो, नेपालीहरुले पनि धेरै विवाह होटलमा गरेका छन्।’
२ अर्ब ५० करोड लगानीमा निर्माण भएको होटल पाँच विघा क्षेत्रफलमा फैलिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटरको दुरीमा रहेको होटलमा ८५ वटा कोठा छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आशामा अर्बौं लगानी गरेर खुलेका होटलहरु नचलिरहेका बेला सिद्धार्थ भिलासाले भने राम्रो व्यापार गरिरहेको छ।
![438171778_473203808380987_4742496095908870411_n-1715865286.png](https://www.capitalnepal.com/uploads/posts/438171778_473203808380987_4742496095908870411_n-1715865286.png?timestamp=1715865287044)
विवाह र कर्पोरेट इभेन्टका लागि उपयुक्त मानिएको होटलमा भारतीयसँगै नेपालीहरुको पनि विवाह हुने क्रम बढेको महाप्रबन्धक पुरीको भनाइ छ। ‘भैरहवामा लक्जरी होटलको खोजीमा रहेकाहरुको माग पूरा गर्दै आएको छ,’ महाप्रबन्धक पुरीले भने, ‘ठूला कर्पोरेट हाउसहरुको विभिन्न इभेन्टहरु यो होटलमा हुँदै छ।’ विवाहका लागि भारतबाट तीन रात चार दिनका लागि आउने गरेको र नेपालीहरुले पनि अहिले होटलमा बसोबास सहितको विवाह गर्ने प्रचलन बढ्न थालेको उनले बताए। नेपालीहरुको औसत बसाइ दुई रात, तीन दिनको हुने गरेको छ।
एउटै कोठाको पर्छ १ लाख ५५ हजार
होटलमा चार प्रकृतिका कोठा छन्। ती कोठाहरुमध्ये सुरुवाति मूल्य १८ हजार रुपैयाँदेखि १ लाख ५५ हजार रुपैयाँसम्मका कोठा छन्। महाप्रबन्धक पुरीका अनुसार एक रातको सबैभन्दा महंगो भिलासा (प्रेसिडेन्टल रुम)को १ लाख ५५ हजार रुपैयाँ पर्छ।
यो मूल्य दुई जनाका लागि हो। एक जना मात्र बस्दा १ लाख ५० हजार रुपैयाँ पर्छ। यो कोठा १ हजार ५५० स्क्वायर फिटमा फैलिएको छ। यस्तै सबैभन्दा सस्तो डिलक्स कोठामा एकललाई १५ हजार र दुई जनालाई १८ हजार रुपैयाँ नेपाली पर्छ। यस्तै एजुकेटीभको २५ हजार रुपैयाँदेखि ३० हजार र सुइटको ५० देखि ५५ हजार रुपैयाँसम्म मूल्य तिर्नुपर्छ।
![441560819_437097082381435_223826310572569567_n-1715865317.png](https://www.capitalnepal.com/uploads/posts/441560819_437097082381435_223826310572569567_n-1715865317.png?timestamp=1715865319903)
ती रुमहरुमा मिनिबार, इन्टरनेट र एसीको सुविधा छ। योसँगै केहि कोठामा बालकुने रहेको र अन्य कोठाहरुको झ्यालबाट पनि पूर्ण रुपमा भैरहवालाई नियाल्न सकिन्छ। होटेलमा तीनवटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्टसहितका पूर्वाधारहरूसँगै होटेलका क्षेत्रमा सबैभन्दा ठूलो एक हजार दुई सय जना क्षमता रहेको सेमिनार हलसमेत छ।
अक्टोबरभित्रै क्यासिनो
होटलमा आउँदो अक्टोबरभित्रै क्यासिनो सञ्चालन गर्न लागिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए। भैरहवालगायत सीमा क्षेत्रमा धेरै भारतीय पर्यटकहरु क्यासिनो खेल्न आउने गरेकोले उनीहरुलाई लक्षित गरी आउँदो अक्टोभरभित्रै सञ्चालनमा ल्याउने गरी सम्झौता भएको उनले बताए।
अहिले क्यासिनोका लागि आवश्यक भवन निर्माण भइरहेको र भित्री तयारी भइरहेकोले नाम भने खुलाउन नमिल्ने उनले जानकारी दिए। ‘नेपालकै ठूलो क्यासिनोको रुपमा सञ्चालनको तयारीमा छौं,’ सीईओ न्यौपानेले भने, ‘क्यासिनोको गति हेरेर दोस्रो चरणमा १०० वटा कोठा थप गर्ने योजना समेत बुनेका छौं।’