चिप्लेढुङ्गा । सुन्दर छ पोखरा सबैको रोजाइको शहर । पोखरा सुन्दर हुनुमा प्राकृतिक सुन्दरतामा होइन सृजनशिल मनहरुले पनि उत्तिकै यादगार बनाउँछ पोखरा आउनेलाई । अग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर छ ।
हरेक वर्ष आउने अँग्रेजी नयाँ वर्ष पोखराले भने फरक तरीकाले मनाउन थालेको २० वर्ष पुरा भइसकेको छ । पर्यटक भित्रयाउने नयाँ नयाँ सोचको विकाससँगै पर्यटन व्यवसायमा लामो अनुभव हासिल गरको गणेश बहादुर भट्टराइले सडक महोत्सवको परिकल्पनालाई पोखरा भित्र्याउनु भएको हो । उनी भने “सन् १९९७ तिर राजा विरेन्द्रसँग पोखरामा डिनर गर्ने अवसर मिल्यो सो अवसरमा राजा विरेन्द्रले पोखरामा पर्यटकको चहलपहल नभएको भन्ने कुरा राख्नुभयो । कारण के हुन सक्छ दक्ष जनशक्ति भएन की पर्यटक गतिविधीमा हाम्रो चासो पुगेन की । यसमा ध्यान दिनुपर्यो भनेर चिन्ता व्यक्त गर्नु भयो ।” भट्टराइ स्मरण गर्छन् “मलाई राजा विरेन्द्रको कुराले निकै सोचमग्न बनायो , १९९७ मा भारतको गुवाको एक कार्यक्रममा सहभागि हुने अवसर मिल्यो । मैले त्यहाँ सास्कृतिक देखि हस्तकलाका धेरै कुराहरु देखें तत्काल पोखरामा पनि यस्तै मेला गर्न सकिन्छ भन्ने सोच बनाएर फर्किए ।”
सन् १९९९ मा पोखरामा मिलेनियम इभको आयोजना भयो र त्यसको संयोजक भट्टराइनै थिए । त्यसताका ट्रेड फेयर मार्फत नेपालको उत्पादनलाई बाहिर बजारमा निर्यात गर्न सफल भएको उनको अनुभव छ । मिलेनियम इभमा विभिन्न देशका खाना, संगीत, कला, संस्कृति, हस्तकलालाई जोड दिएको उहाँले बताउनुभयो । त्यस कार्यक्रमको सफलताले सँगै त्यस वर्ष यता रेवानले सडक महोत्सवको रुपमा यस महोत्सव मनाउँदै आएको छ । हिजो रेवान सडक महोत्सव सातौ संस्करण देखी ‘पोखरा सडक महोत्सव’ भएको छ । अब यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ्ग गर्नुपर्ने उनको तर्क छ । “पोखरा पर्यटकको रोजाइको गन्तब्य हो । पर्यटकलाइ आकर्षित गर्न अब अन्तराष्ट्रिय कला संस्कृति भित्र्याएर र यहाँको कला संस्कृति, हस्तकला, उत्पादनलाई अन्तराष्ट्रिय जगतमा पुर्याउनु पर्छ ।” यसको लागि राज्यले नै अग्रसरता देखाउनु पर्ने उनको धारणा छ ।
सडक महोत्सवको लागि अहिले देश देखि विदेशबाट समेत पर्यटकको आगमन बढ्दै गएको रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराका अध्यक्ष भिमसेन भुजेल बताउछन् । “हिजो नेवार समुदायका विभिन्न सांस्कृतिक गतिविधि बजार क्षेत्रमा केन्द्रित हुन्थे । लेकसाइड शुन्य जस्तो हुन्थ्यो । जब महोत्सव हुन थाल्यो लेकसाइडको पहिचानलाई पनि थप उचाइमा पुग्यो । खुला सडकमा विभिन्न खानाको परिकार र सांस्कृतिक कार्यक्रमले पुसको जाडोलाई विर्साइदिन सफल महोत्सव पोखरेली मात्र होइन देश विदेश मा समेत यस आफ्नो ब्राण्डिङ्ग गरेको छ ।”
भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सडक महोत्सवले थप भूमिका खेल्ने उनको विश्वास छ । रेवानका पूर्व अध्यक्ष सूर्य भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तराष्ट्रिय जगतमा पुर्याउन सफल भएको बताउछन । “यो जाडो मौसम र विशेष गरी क्रिसमसको समयमा पोखरामा पर्यटकको बसाइ निकै पातलो हुन्छ । विभिन्न देश बाट आएका पर्यटकलाई सडम महोत्सवले उत्सव मनाउने अवसर प्रदान गरेको छ । सडक महोत्सवको २१ औं संस्करण प्रवद्र्धन समिति संयोजक समेत रहनु भएका भुजेलले भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन यहि ग्राउण्डबाट हुने भएकाले पनि विशेष रहेको बताए ।
गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन सहितको र्यालीले थप रौनकता प्रदान गर्ने उनको भनाइ छ । महोत्वसमा यस वर्ष करीब ६ लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको भुजेल बताउछन् । सातौ संस्करणबाट पोखरा सडक महोत्सवबाट नाम पाएको यस महोत्सवमा पुस १२ गते देखि १६ गते सम्म विभिन्न देशका खानाका परिकारका साथै नेपालका विभिन्न कला संस्कृति झल्कने प्रर्दशनी, साँस्कृतिक कार्यक्रम, हस्तकला सामाग्री, एवं कृषि उपजको प्रर्दशनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए । पोखरा लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा सडक महोत्सव हुनेछ ।