×

सोलारबाट बिजुली निकाल्न सवा २ अर्ब लगानी गर्दैै गोल्यान ग्रुप 

images

काठमाडौं। उत्पादन तथा प्रशोधन, सेवा र घरजग्गा व्यवसायमा संलग्न गोल्यान ग्रुपले ऊर्जामा लगानी विस्तार गरेको छ।

ग्रुपले भारतको रिनेर्गो डेभलपर्स प्रालिसँग साझेदारी गरी बाँकेमा २० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना तयारी थालेको छ। 

ग्रुपको तयारी पोशाक, बैंक तथा बिमा, घरजग्गा, प्लास्टिक, पर्यटन र व्यापार–व्यवसायमा लगानी छ। 

ग्रुपले बाँके रैनापुरमा २० मेगावाट क्षमतायुक्त सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्न लागेको हो। १०/१० मेगावाट गरी दुई चरणमा निर्माण हुन लागेको सोलार प्लान्टमा ग्रुपले २ अर्ब २४ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ। 

सोलारबाट बिजुली उत्पादन गर्न प्रतिमेगावाट लागत ११ करोड २४ लाख ३० हजार रुपैयाँ पर्छ। प्योर इनर्जी लिमिटेडमार्फत परियोजना निर्माण हुन लागेको हो। कम्पनीले ६७ प्रतिशत ऋण र बाँकी ३३ प्रतिशत संस्थापकहरूको स्वपुँजी लगानी रहने छ। हालसम्म ५० प्रतिशत भौतिक र २६ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ। 

दुवै ब्लकबाट सन् २०२३ मे २५ भित्र बिजुली उत्पादन थाल्ने योजना कम्पनीको छ। एउटा ब्लकबाट आउँदो मंसिर अन्तिममा ऊर्जा उत्पादन थाल्ने लक्ष्य छ। 

पहिलो ब्लकको काम प्रारम्भिक चरणमा छ। आयोजनाको काम निर्धारित समयमा पूरा गर्न नसके प्योर इनर्जीले नेपाल विद्युत प्राधिकरणलाई जरिवाना (पेनाल्टी) तिर्नुपर्ने छ। 

प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा २५ वर्षका लागि विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणको कोहलपुरस्थित सबस्टेसनमा जोडिने छ।

कम्पनीले १० वर्ष पूरै र अर्को पाँच वर्ष थप ५० प्रतिशत कर छुट पाउने छ। सरकारले २०२४ सम्म सम्पन्न हुने आयोजनालाई कर सुविधा दिएको छ। 

कम्पनीले १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। नेपाली बैंकिङ क्षेत्रमा अस्थायी ब्याजदर छ। जहाँ त्रैमासिक आधार दरमा निश्चित प्रिमियम थपिन्छ र ब्याजदर त्रैमासिक आधारमा तदनुसार परिवर्तन हुन्छ। 

नेपालका बैंक तथा वित्तीय संस्थाका आधार दर धेरै अस्थिर रहन्छ किनभने उनीहरू प्रणालीमा उपलब्ध तरलताबाट प्रभावित हुन्छन्। जसले ब्याजदरमा परिवर्तन ल्याउँछ। 

सौर्य ऊर्जा प्लान्ट स्थापना प्रक्रियामा कम्पनीका अध्यक्ष अक्षय गोल्यानको एक दशकभन्दा बढीको अनुभव छ। 

गौल्यान ग्रुपले निर्माण, घरजग्गा, होटल, उद्योग र अन्य क्षेत्रहरूमा ५०.८२ प्रतिशत सेयर होल्ड गर्दछ। कम्पनीको दैनिक व्यवस्थापन २३ वर्षभन्दा बढीे अनुभव भएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परबिन अर्यालले हेर्छन्।

जलविद्युत र ऊर्जा क्षेत्रसहित धेरै उद्योग र कम्पनी सञ्चालन दक्ष प्राविधिकले हेरिरहेका छन्। 

प्योर इनर्जी २०१८ मा स्थापना भएको थियोे। गोल्यान ग्रुपले २ सय १७ मेगावाटको जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।

मङ्गलबार १८ असोज २०७९ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया