सिमिकाेट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज १ गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।
दसैंका लागि प्रतिकेजी सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । बजारमा बिक्री भइरहेको मूल्यभन्दा प्रतिकेजी सात रुपैयाँ कमका दरले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए ।
लिमिटेडले बजारमा प्रतिकेजी जीरा स्टिम मसिनो ८५, अरुवा मध्यम ६२, अरुवा मोटो ५८, बास्मती ११०, सोनामन्सुली ६५, अरुवा मकावनपुर ६० रूपैयाँमा बिक्री गर्दै आएको छ । बीस केजी चामलको १ सय ४०, २५ केजीको १ सय ७५, ३० केजीको २ सय १० रूपैयाँ छुटमा वितरण गरिने उनले जानकारी दिए ।
चामल कम हुँदा वितरण स्थगित
उक्त शाखाको हुम्लास्थित गोदाममा चामल कम हुँदा अहिले वितरण कार्य बन्द गरेकोे छ । दसैं नजिक आउन लाग्दा चामल कम भएकाले वितरण बन्द गरिएको जनाइएको हो ।
हुम्लामा विगतका वर्षमा समेत दसैंकाे मुखमा चामल अभाव हुँदै आएको छ । शाखाका निमित्त प्रमुख आचार्यले अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल रहेकाले वितरण स्थगित गरिएको बताए । 'दसैं नजिकै आउँदैछ गोदाममा चामल कम छ, त्यसैले असोज एक गतेदेखि वितरण गरिने भएकाले भदौ महिनामा विक्री वितरण स्थगित गरिएको हो,' उनले भने ।
एक पटक खाद्यान्न बिक्री वितरण गर्न झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको छ । वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दसैंकाे मुखमा आफूहरूले नपाउने गरेको खार्पुनाथ गाउँपालिका–४ नैन बहादुर रावलले गुनासो गरे । उक्त गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिनादेखि खार्पुनाथबासीले चामल नपाएको उनको भनाइ छ ।