×

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा, यी कम्पनीले पाए अवार्ड

images

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । 
शुक्रबार ह्यात होटलमा एक कार्यक्रम आयोजना गर्दै सो अवार्डको विजेता घोषणा भएको हो । 

काठमाडौं च्याप्टरले पहिलोपटक आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ पहिलो भएको छ । यस्तै ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ । 

अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअपले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 
युवा उद्यमीहरुका लागि प्रभावशाली तथा अत्यावश्यक  नेटवर्किङको माध्यमबाट उद्यमी मानसिकता र साझा दृष्टिकोणलाई बढावा दिने उदेश्यले आयोजना भएको सो अवार्डमा सहभागी हुन देशभरबाट सय भन्दा धेरै स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए । 

जसमा एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो रहेका थिए । अवार्ड प्रत्योगितामा सहभागी सम्पूर्ण कम्पनीहरु हाल व्यवसाय सञ्चालन गरी आर्यआर्जन समेत गर्न थालिसकेको अवस्थामा थिए । 

प्रतियोगितामा सहभागी उत्कृष्ट व्यवासायिक आईडियाहरुलाई ५० लाखदेखि ५ करोडसम्मको लगानीकर्ताहरुसँग जोड्ने आयोजक काठमाडौं च्याप्टरको लक्ष्य थियो । 

नेपालमै जन्मिएका विभिन्न नविन तथा अन्वेषणयुक्त आईडियाहरुका लागि उपयुक्त वातावरण र बजारसँग जोड्ने यस्तो किसिमको अवार्ड कार्यक्रमलाई आगमी दिनमा समेत निरन्तरता दिने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए । 

यस्ता छन् शीर्ष तीन कम्पनी 
डक्टर अन कल नेपाल

चिकित्सा क्षेत्रमा लागेका युवाको समूहले स्थापना गरेको डक्टर अन कलले घर घरमा पुगेर चिकित्सा सेवा प्रदान गर्दै आइरहेको छ । विशेषगरी वृद्धा र शारीरिकरुपमा अशक्त जो अस्पताल पुग्न सक्दैनन् त्यस्ता व्यक्तिहरुलाई घरमै पुगेर कम्प्नीले सेवा दिदैँ आइरहेको कम्पनीका संस्थापक सुयश कार्कीले बताए । डक्टर अन कलले सब्सक्रिप्सन मोडलमा समेत यो सेवा प्रदान गर्दै आइरहेको छ । 

अर्बन नेपाल 

अर्बन नेपाल देशकै पहिलो स्थानीय घरेलु सेवा प्रदायक प्रविधिमा आधारित कम्पनी हो । जसको सहयोगबाट सेवाग्राहीहरुले आफ्नो घरमा आवश्यकीय दैनिक मर्मत तथा विभिन्न किसिमका सेवाहरु लिन सक्छन् । हाल कम्पनीले घरेलु देखि विजनेस लगायता बीटुबी तथा बीटुसी मोडलमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अन्शु टेक्नोलोजी 

अन्शु टेक्नोलोजी शैक्षिक प्रविधिमा आधारित कम्पनी हो । यसले पूर्व प्राथमिक शिक्षा तहमा अध्ययनरत विद्यार्थीहरुलाई एआर अर्थात् अगुमेन्टेड रियालिटीबाट अनुभवमा आधारित नविन किसिमको सिकाई प्रदान गर्दछ । 

 

शुक्रबार​ १ असोज २०७८ ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया