×

‘अर्थतन्त्र बिग्रिँदै गएका बेला ढाकछोप होइन सबै मिलेर समाधानमा लाग्नुपर्छ’

images

काठमाडौं । विश्व अर्थतन्त्रमा ठूला–ठूला असरहरु पर्दै आएका छन् । अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थ बजारमा केही नकारात्मक असर गरेको थियो । त्यसपछि कोरोना महामारीले अर्थतन्त्रलाई थप तहसनहस पारेको अवस्था छ ।

विश्व व्यापारका दृष्टिले ‘ग्लोबल इकोनोमीको आउटपुट’ घटेका कारण अन्य राष्ट्रलाई ठूलो चोट पर्यो । तर, नेपालमा त्यति असर परेन । हाम्रो ‘इम्पोर्टबेस इकोनोमीमा सप्लाई चेन’लाई हेर्नुपर्छ । ग्लोबल सप्लाइमा केही तल-माथि हुँदा हामीलाई त्यति असर पदैन । तर, इन्डियन सप्लाइ चेनमा तल-माथि भयो भने ठूलो असर पर्छ ।

कोरोनाले नेपालको अर्थतन्त्रलाई धेरै असर गरेको छ । कोरोना पहिले पनि हाम्रो अर्थतन्त्र त्यति राम्रो थिएन । पछिल्लो १० वर्षमा नेपालको अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढेको छ । विगत ३ वर्षको आर्थिक वृद्धिदर हेर्दा औसतमा १ प्रतिशत बिन्दुले मात्र वृद्धि भएको देखिन्छ ।

बिग्रिँदो अर्थतन्त्रको जस-अपजस कुन सरकार र कुन मन्त्रीले लिने हो मलाई थाहा छैन । अहिलेको कठिन परिस्थितिमा सरकारले काम गर्न सकेको छैन । उद्यमी व्यवसायीले बजेटले राहतका कार्यक्रम ल्याउने आशा गरेका थिए । तर, बजेटमा उद्यमी/व्यवसायी समिटिएनन् ।

नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएर उद्यमी, व्यवसायी, कृषक र वित्तीय क्षेत्रलाई राहत मिल्याे । अहिले मुद्रास्फीति बढ्दो छ । मुद्रास्फीति बढेर ७ दशमलव ४ प्रतिशत पुगेको छ । यस्तो अवस्थामा शिथिल अर्थतन्त्रलाई कसरी हुन्छ जोगाउने हो । 

एक वर्षको बजेटभन्दा व्यापारघाटा बढी पुग्ने अवस्था छ । गत वर्षसम्म १३ सय ८९ अर्ब रुपैयाँ व्यापारघाटा थियो । यस वर्ष चैतसम्म व्यापारघाटा १३ सय अर्ब रुपैयाँ पुगिसकेको छ । यो गम्भीर कुरा हो ।

भुक्तानी सुन्तलनको अवस्था बिग्रिँदै गइरहेको छ । यस्तो अवस्थामा ढाकछोप गर्ने होइन । सबै मिलेर समाधानतिर लानुपर्ने बेला आएको छ । निर्यात गर्न हामीसँग के छ ? त्यसको पहिचान गरेर अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सरकारी कार्यालयवरपर रहेको खाली जमिनमा अब तरकारी खेती गर्नुपर्छ । 

केही वर्षअघि चीनकाे अवस्था पनि नाजुक थियो । चीनको अर्थतन्त्र ऋणात्मक थियो । सोही अवस्थामा सोभियत संघ शक्तिशाली थियो ।

पछि चीनले आफूलाई मन पर्ने बंगुरको मासु खान छोडेर केही वर्षमै ऋण चुक्ता गरी अहिले २० वर्षअघि सोभियत संघको अर्थतन्त्र बराबरीमा पुर्यायो । त्यस बेलाको सेभियत संघको अर्थतन्त्रभन्दा अहिले चीनको अर्थतन्त्र १० गुणा बढी पुगेको छ । 

अरु तीव्र आर्थिक वृद्धिमा लाग्दा हामी भने ढाकछोपमा लागिरहेका छौं । अब सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ, ग्यास, सिलिन्डर खपत कम गर्नुपर्छ । देशको अर्थतन्त्र ओरालो लाग्दै गइरहेको छ ।

महँगी बढिरहेको छ । महँगीको मार ठूलाबडालाई नभई दैनिक कामधन्दा गरी जीविकोपार्जन गरी खानेलाई पर्छ । त्यसकारण नीतिनियम ल्याउँदा त्यस्ता कुरामा ख्याल गर्नुपर्छ । 

(नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा डा. रावलले गरेको सम्बोधनको सम्पादित अंश)
 

बिहीबार १५ बैशाख २०७९ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया