सहुलियत मूल्यका खसीबोका बिक्री भइसके, च्याङ्ग्रा बिकेनन्

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०१:३२:PM  
सहुलियत मूल्यका खसीबोका बिक्री भइसके, च्याङ्ग्रा बिकेनन्

काठमाडौं । सरकारले सहुलियत मूल्यमा बेच्ने भनेर ल्याएका खसीबोका बिक्री भइसकेका छन् । बाहिरी बजार मूल्यभन्दा निकै सस्तो गरी सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका खसीबोका बिक्री भइ अपुग भइसकेको हो । 

कम्पनीले खसीबोकाको प्रतिकेजी मूल्य ५६० रुपैयाँमा उपभोक्ताका लागि १० रुपैयाँ छुट गरी बिक्री मूल्य ५५० रुपैयाँ कायम गरेको थियो । अन्य बाहिरको बजार मूल्यको तुलनामा सरकारले बिक्री गरेका खसीबोकामा झन्डै १०० रुपैयाँभन्दा बढी सस्तो छ । अहिले बाहिर किन्दा वा खसीबजारमै ज्युँदाे खसीबोकाको प्रतिकेजी मूल्य ६४० रुपैयाँसम्म पर्ने व्यापारी बताउँछन् । 

खाद्य कम्पनीले ११०० खसीबोका बिक्रीका लागि ल्याएको थियो । तर, अहिले सबै खसीबोका बिक्री भइसकेको कम्पनीका महाप्रबन्धक योगेन्द्र गाैचनले बताए । ‘अहिले खसीबोका झन्डै ९००/१००० ओटाभन्दा बढी बिक्री भइसके । अन्य बजारको तुलनामा सस्तो हुँदा खसी बिक्री अपुग भयो,’ उनले भने, ‘तर, च्याङ्ग्रा भने त्यति साहे बिक्री भएनन् । अहिले ५०० ओटाकै हाराहारीमा च्याङ्ग्रा बिके होलान् ।’

बाहिरको बजारभन्दा च्याङ्ग्रामा १०/२० रुपैयाँ मात्रै सस्तो, ढुवानी झन्झट र बाहिर पनि आपूर्ति हुने हुँदा च्याङ्ग्रा त्यति साहे बिक्री नभएको गौचनको तर्क छ । अहिले कम्पनीले प्रतिकेजी च्याङ्ग्राको मूल्य ७३० रुपैयाँ कायम गरेको छ । विगतमा एकै परिवार र एकै व्यक्तिले सस्तोमा खसी किनेर महँगााे मूल्यमा बेचेका कारण अहिले सरकारले एक घरलाई एक खसी बिक्री गर्दै आएको जनाएको छ ।

चाडपर्वका बेला उपभोक्तालाई सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा विगतदेखि नै सरकारले बिक्री वितरण गर्दै आएको छ । अहिले दाङ, मकवानपुर, चितवन लगायतका ठाउँबाट किसानले खसीबोका बिक्रीका लागि ल्याएका छन् ।

हरिप्रसाद शर्मा

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');