काठमाडौं । बीमा समितिले देशभरी घुम्ती बीमा कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले पहुँच बढाउन घुम्ती बीमालाई प्रोत्साह गर्ने नीति लिएपछि नियामक समितिले घुम्ती बीमालाई प्राथमिकताका साथ अघि बढाएको हो ।
कुल जनसंख्याको २० प्रतिशतमा मात्र बीमा पुगेको छ । बीमाको दायरा फराकिलो बनाउन सरकारले अभियानको रुपमा घुम्ति बीमा कार्यक्रम अघि बढाएको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले घुम्ती बीमालाई गाउँगाउँ पुर्याउने गरी तयारी गरेको बताए । समितिले यस्ता कार्यक्रम वर्षै भरी गर्ने कार्यकारी निर्देशक पौडेलको भनाई छ ।
समितिले जनकपुरमा घुम्ती बीमा संबन्धी कार्यक्रम गरिसकेको छ । भने आगामी शनिवार कास्कीको रुपा गाउँपालिकामा कार्यक्रम संचालन हुँदैछ । समितिले पाइलट प्रोजेक्टको रुपमा घुम्ती बीमालाई अघि बढाएको छ ।
यस प्रोजेक्टको मुख्य उदेश्य साना साना छरिएर रहेको पूँजीलाई एकिकृत गर्नु र तल्लो स्तरका किसानहरुको जीवन स्तर उकास्नु रहेको छ ।
घुम्ती बीमा कार्यक्रममा लागि समितिले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई तयार रहन निर्देशन समेत दिएको छ । घुम्ती कार्यक्रमबाट बिमितले सानोसानो उत्पादनको बीमा गर्न पाउँछन् । बीमा गर्न टाढा जानु परेन । विना कुनै झन्झट आफ्ना उत्पादनको बीमा गर्न सकिने समितिले जनाएको छ ।
तराई क्षेत्रमा प्राय फुसको घर हुने गर्छ । त्यस्ता घरको बीमा गरिदिए उनीहरुले क्षतिपूर्ति पाउन सक्ने अवस्था हुन्छ । लघुबीमा जीवन र निर्जीवन दुबैमा गर्न पाउने व्यवस्था रहेको कार्यकारी निर्देशक पौडेलले बताए ।
समितिले शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदशर्न २०७६ पनि जारी गरिसकेको छ । समितिले सर्वसाधारणमा सहज ढंगले न्यूनतम लागतमा घरदैलौमा नै बीमा सुविधा पुर्याउन सजिलो होस भन्ने उदेश्यले सो मार्गदर्शन जारी गरेको हो ।
बीमालाई तल्लो स्तरसम्म पुर्याउन लघुबीमालाई प्राथमिकता दिने गरी संचालन गर्ने बजेटमा उल्लेख भएपछि समितिले घुम्ती बीमा सम्बन्धि कार्यक्रमलाई तिब्रता दिएको हो ।
समितिको मार्गनिर्देशन अनुसार घुम्ती बीमा सेवा प्रदान गर्दा बीमकले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँ सम्मको घर बीमा लगायतलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
घुम्ती बीमा सेवाले ५ लाख रुपैयाँ भन्दा बीमाङ्क कायम भएको कुनै पनि बीमालेख जारी गर्न नपाउने व्यवस्था समितिले गरेको छ । एकल बीमा शुल्क भएको जीवन बीमा,वैदेशिक रोजगारी म्यादी जीवन बीमा गर्न पाउने छैनन् ।
यस्तै निर्जीवन तर्फ सामुन्द्रिक बीमा, हवाई, इन्जिनियरिङ्ग बीमा र मोटर बीमा गर्न नपाउने व्यवस्था सो मार्गदर्शनमा उल्लेख छ ।
के हो लघुबीमा ?
लघुबीमा भन्नाले त्यस्तो बीमालाई जनांउछ जसले न्यून आय भएका ब्यक्तिहरुलाई लक्षित गरी अन्य बीमा व्यवसाय जस्तै सेवा प्रदान गर्दछ ।
लघु बीमा निर्देर्शिका २०७१ (परिमार्जित २०७५/०४/२४) मा म्यादी लघुजीवन बीमा,सावधिक लघुजीवन बीमा,आजीवन लघुजीवन बीमा,लघुउद्यम जीवन बीमा,समितिले तोकिदिए बमोजिमको अन्य लघुजीवन बीमा लगातका गर्न पाउने व्यवस्था छ ।
त्यस्तै,लघु्निर्जीवन बीमा व्यवसायतर्फ गार्हस्थ लघुबीमा, स्वास्थ्य लघुबीमा, दुर्घटना लघुबीमा, पशु तथा पन्छी लघुबीमा बाली लघुबीमा,लघुउद्यम बीमा र समितिले तोकिदिए बमोजिमको अन्य लघुनिर्जीवन बीमा लगायतका बीमाहरु गर्न पाइने व्यवस्था छ ।
बीमकको सञ्चालक, कर्मचारी तथा लघुबीमा सम्बन्धी कार्य गर्ने लघुबीमा अभिकर्ताले लघु बीमालेख लिनेको हकहित विरुद्ध कुनै काम गरी नोक्सानी पुर्याएमा त्यसको जिम्मेवारी बीमकले लिनु पर्ने कानुनी व्यवस्था छ ।