काठमाडौं । महँगा पेन्टिङ खरिददेखि मेला महोत्सवमा खर्च गर्ने बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि नेपाल राष्ट्र बैङ्कले अनुसन्धान सुरु गरेको छ ।
नियम विपरित बैङ्कका अध्यक्ष तथा सीईओले जथाभावी खर्च गरेको उजुरी राष्ट्र बैङ्कमा परेपछि अनुसन्धान सुरु गरेको डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए ।
‘बैंकको कोषबाट पेन्टिङ खरिद गर्न पाइँदैन्,’ डेपुटी गभर्नर श्रेष्ठले क्यापिटल नेपालसंग भने, ‘त्यस्ता बैङ्कका अध्यक्ष तथा सीईओमाथि राष्ट्र बैङ्कले अनुसन्धान सुरु गरेको छ ।’
खासगरी, वाणिज्य बैङ्कका सीईओ तथा अध्यक्षहरुले यस्ता शिर्षकमा ठुलो रकम खर्च गर्दै आएको उनको भनाइ छ । यो सामाजिक उतरदायित्व (कर्पोरेट सोसल रेन्सपोन्सिविलीटी) विपरित रहेको राष्ट्र बैङ्कको ठम्याइ छ । अधिकाँश बैंकहरुले यस शिर्षकमा खर्च गरिरहेको ठहर राष्ट्र बैंकले गरेको छ ।
डेपुटी गभर्नर श्रेष्ठका अनुसार अहिले बैङ्कमाथि अध्ययन अनुसन्धान सुरु भइरहेको छ । कुन बैङ्कका अध्यक्ष तथा सीईओले यस्तो गरेका हुन्, पत्ता लगाएर राष्ट्र बैङ्कले कारबाही गर्ने उनको भनाइ छ ।
बैङ्कको नाफा खुम्चिएको भन्दै स्प्रेडदर गणनाविधिमा परिवर्तन गर्न लविङ गरेको अध्यक्ष तथा सीईओले फजुल खर्च भने रोक्न सकेका छैन् । यदि उनीहरुले यस्ता फजुल खर्च नरोक्ने हो भने राष्ट्र बैङ्कले स्प्रेडदर गणना विधिमा कुनै परिवर्तन नगर्ने राष्ट्र बैङ्कको भनाई छ ।
याे पनि पढ्नुुस्, जनताको पैसामाथि बैङ्कका अध्यक्ष र सीईओको रजाई, पेन्टिङ किन्नदेखि मेला महोत्सव ‘स्पोन्सर’ समेत बैङ्कबाट
सर्वसाधारणको निक्षेपमा कम ब्याज दिने र ऋणीबाट चर्को ब्याज लिने प्रचलन अहिले पनि कायम छ । सधैभरी डिपोजिटरको पैसामाथि खेलबाड गरिरहने हो भने निक्षेपको दर पनि घट्न सक्ने केन्द्रीय बैंङ्कको भनाई छ ।
बैङ्कबाट एकातिर निक्षेपकर्ता सन्तुष्ट नहुने र अर्कोतिर ऋणी पनि खुसी हुने अवस्था छैन । यस्तो अवस्थमा बैङ्कले सोचे अनुसार नाफा कमाउन गाह्रो छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा वाणिज्य बैंकहरुको नाफा वृद्धि ६ प्रतिशतमा खुम्चिएको छ । अधिकाँश बैंकले स्प्रेडदर बढाएर नाफा गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।