काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने बताएका छन् ।
‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रस्नको जवाफ दिँदै विद्युतीय सवारीको कर बढाउने विषयमा चुहावट भए/नभएको छानविन गर्न सकिने बताएका हुन् ।
विधेयक माथिको सामान्य छलफलका क्रममा सांसदहरुले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतीय सवारी साधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए । अर्थमन्त्री खतिवडाले जेठ १ गते देखि ७ गतेसम्म ७५ वटा र १६ गतेसम्म १९ वटा विद्युतीय गाडी भन्सारबाट छुटेको र कुनै पनि व्यावसायिक घरानाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पस्ट पारे ।
उनले करको चुहावट गरी विद्युतीय गाडी छुटाइएको भन्दै अर्थमन्त्रालको व्यावसायिकता र व्यक्तिको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह गरे । उनले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानविन गर्न सकिने बताए । ‘जेठ १ देखि ७ गतेको बीचमा ७५ वटा गाडि आए, त्यसपछि १६ गते १९ वटा गाडि आएर समग्रमा ९३ वटा गाडि आए त्यहीबेला १ सय ७९ वटा पेट्रोलियमका गाडि पनि छुटे ।
यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर अर्थमन्त्रालयको व्यवसायीकतासँग जोडेर व्यक्तिको चरित्रसँग जोडेर यसरी ब्याख्या गर्दा अन्याय पनि त हुँदो हो नी’ उनले भने, ‘यसको सबै विवरणहरु सिस्टममा छ । माननीय सदस्यहरलाई म देखाउन सक्छु । कुन कुन दिन कति गाडि छुटेका छन् । भ्रम नफैलाऔं यथार्थ कुरा त्यही नै हो । यदि जेठ ७ गते अगाडि नै करको विषयमा कसैले चुहायो भने त्यो पनि छानविन गरौं, छलफल गरौं तर भ्रामक कुरा नगरौं ।’
अर्थमन्त्री खतिवडाले करका अंकहरु परिवर्तन जेठ १४ गते राति मात्रै हुने भएकाले चुहावट हुने कुनै ठाउँ नरहेको बताए । उनले आफ्नो दुई दशक लामो राजनीतिक जीवनमा कुनै व्यावसायिक घरानाको लागि काम नगरेको र अब पनि नगर्ने स्पस्ट पारे ।
चक्लेटमा कर घटाइएको विषयमा पनि अर्थमन्त्री खतिवडाले प्रष्टिकरण दिएका छन् । उनले अहिलेको संसद एमसीसी र चक्लेटमय बनेको भन्दै त्यस्तो प्रकारले बहस गर्न जरुरी नरहेको बताए । उनले अघिल्लो वर्षहरुमा चक्लेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गरिएको स्पस्ट पारे ।
अहिले पनि ५४ प्रतिशत इफेक्टिभ रेट रहेको जानकारी दिए । उनले भने ‘चालु आर्थिक वर्षको बजेटमा हामीले ४० प्रतिशत गरेका थियौं । ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत हुन गयो । खाद्य वस्तु हो ६६ प्रतिशत किन पुरानै दर ल्याऔं भनेर ३० प्रतिशतमा ल्याएको हो । अनि यो भन्दा अगाडि ३० प्रतिशतमा राख्ने सबै अर्थमन्त्रीले कुनै समूहसँग मिलेर गरेका हुन त ? यो आफैमा के नगर्ने काम भयो मैले केहीपनि बुझेको छैन् । एमसीसी र चक्लेट मय बनेको छ यो संसद् यो नगरौं भन्ने मेरो अनुरोध हो ।’
अर्थमन्त्री खतिवडाले संसदमा उठेका सबै विषयहरु सरकारले ध्यान दिएर सुन्ने र करका दरहरुमा विकृति, समस्या वा चुहावट भए सुझाव स्वीकार हुने बताए । उनले करका विषयहरुलाई व्यक्तिको निष्ठा र कुनै व्यावसायिक घरानासँग जोडेर हेर्ने काम नगर्न आग्रह गरे ।