काठमाडौं । सरकारले नै सार्वजनिक यातायात नचढ्न सर्वसाधारणलाई आग्रह गरेपछि सडकमा खाली गाडी चल्न थालेका छन् । अहिले पूर्णरुपले यातायातका सवारी नचले पनि सञ्चालनमा रहेका गाडीहरुमा यात्रुको चाप निकै कम हुने गरेको छ । जस्का कारण यातायात सवारी रित्तै वा खाली कुद्ने गरेका हुन् ।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सकभर सार्वजनिक यातायात प्रयोग नगर्न आग्रह गरेपछि त्यसको प्रत्यक्ष असर सार्वजनिक यातायात सञ्चालनमा परेको हो ।
अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर निरन्तर बढिरहेपछि मन्त्रालयले सार्वजनिक यातायात चढ्न निरुत्साहित गरेको हो । सार्वजनिक यातायातमा हुने यात्रुको भीडभाडका कारणले कारोना संक्रमण बढ्ने जोखिम उत्तिकै छ ।
यात्रुहरु पनि सकेसम्म सार्वजनिक यातायात चढ्न डराइरहेका छन् । उनीहरु आफ्नै साधन वा पैदल मै अफिस बाहिर जाने गरेका छन् ।
‘तत्काल सार्वजनिक यातायात चलेपनि चढ्नलाई त निकै जाखिम छ । म अफिस पैदल नै गइरहेको छु’ एकान्तकुनाका भीम पुर्जाले भने, ‘अझ काठमाडौंमा त कोरोनाका रोगी बढिरहेका छ भन्ने सुन्छु ।’
यता यातायात सञ्चालक पनि गाडी सञ्चालन ल्याएपनि ढुक्क छैनन् । यात्रुले गाडी नचढेपछि ‘बोहोनी’ नै नभएको एक टेम्पो चालकले बताए ।
यसअघि असार २६ गते सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको थियो । तर, यातायात व्यवसायीले भने अहिले सम्म पनि पूर्ण रुपमा गाडी सञ्चालनमा ल्याएका छैनन् ।
यातायात व्यवसायीकाे आपत्ति
सरकारले गाडी सञ्चालन गर्न अनुमति दिने तर, सर्वसाधारणलाइ नचढ्न आग्रह गरेपछि यातायात व्यवसायीले आपत्ति जनाएका छन्
‘सरकारले नै यातायात सञ्चालन गर्नु भनेर आदेश दिन्छ तर फेरी सरकारले नै सर्वसाधारणलाई त्रासको बातावरण सिजना गराइदिएको छ’ नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘सार्वजनिक यातायात सञ्चालन प्रति सरकार गम्भीर छैन’ । उनले सम्पूर्ण यात्रु र यातायात कर्मचारीको स्वास्थ्य सुरक्षाको बिषयमा लागि परिरहेको बताए ।
सरकारसँग गाडी सञ्चालन गर्न नसक्ने भन्दै विरोध जनाएका व्यवसायी अहिले गाडी चलाउने मनस्थितिमा छन् । यद्यपी, उनीहरुले औपचारिक रुपमा गाडी सञ्चालन गर्ने भनेर मुख खोलेका भने छैनन् ।
आइतबार देखि काठमाडौं उपत्यका र चक्रपथ लगायतका विभिन्न सडकमा केही यातायात कम्पनीले गाडी सञ्चालन गरिसकेका छन् ।