भरतपुर । भरतपुर महानगरपालिकाले ७ सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ ।
महानगरपालिकाले गत वर्ष ५ विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराएको र चालू आर्थिक वर्षमा २ विद्यालयसँग बस खरिदका लागि सम्झौता गरेको छ ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । उक्त २ विद्यालयलाई १७ लाख ५० हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने भएकाे हाे ।
गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराएको थियो । ती विद्यालयलाई १६ लाख ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको र बाँकी केही रकम निकासा दिन बाँकी रहेको पौडेलले जानकारी दिए ।
महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ठूलो लगानी गर्दै आएको बताइन् । उनले विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको बताइन्।
'हामीले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन थालेको छ', उनले भनिन्, 'यसको प्रतिफलस्वरूप सरकारी विद्यालयमा विद्यार्थी संख्या निकै बढेको छ ।'
विद्यालयसम्म विद्यार्थीलाई सहज आवतजावतका लागि बस उपलब्ध गराउने नीति महानगरले लिएको उनको भनाइ छ ।
यस्तै उपप्रमुख पार्वती शाहले यातायातको अभावमा कोही पनि शिक्षाबाट वञ्चित नहोस् भन्नका लागि महानगरले बस उपलब्ध गराउँदै आएको बताइन्। साथै आवश्यकताअनुसार थप विद्यालयलाई बस उपलब्ध गराइँदै जाने उनकाे भनाइ छ ।