काठमाडौं। सहरको भित्री गल्ली होस् या बाहिरी क्षेत्र। जहाँ बस्ती बाक्लो हुन्छ, जहाँ मानिसको चहलपहल बढ्छ, त्यहीँ देखिन थालेको छ- बिगमार्ट।
व्यवस्थित रूपमा सजाइएका सामान, अधिकांश वस्तुमा स्पष्ट मूल्यसूची, आफूलाई चाहिएको सामग्री आफैं छानेर एकै ठाउँमा किन्न सकिने सुविधा र घरनजिकै आवश्यक वस्तु पाइने सहजताले बिगमार्ट धेरै उपभोक्ताको पहिलो रोजाइ बन्दै गएको छ। बिहानको हतारो होस् वा बेलुकाको थकान। घरछेउमै दैनिक आवश्यक सामग्री पाइने भएपछि बिगमार्ट अहिले बदलिँदो सहरी जीवनशैलीको अभिन्न हिस्सा बनेको छ।

यही जीवनशैलीको परिवर्तनलाई केन्द्रमा राख्दै बिगमार्टले ‘जहाँ घनाबस्ती, त्यहीँ स्टोर’ रणनीतिसहित आफ्नो सञ्जाल तीव्र गतिमा विस्तार गरिरहेको छ। छोटो दूरीमै सहज पहुँच, दैनिक उपभोग्य वस्तुको उपलब्धता र छरछिमेककै पसलजस्तो अपनत्वका कारण बिगमार्ट काठमाडौं उपत्यकादेखि देशका विभिन्न सहरसम्म फैलिरहेको छ। यसैकारण बिगमार्ट नेपालको सबैभन्दा ठूलो रिटेल चेन बन्ने तरखरमा छ।
हाल बिगमार्टका १६० बढी शाखा सञ्चालनमा छन्। ती शाखामार्फत महिनामा ४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइँदै आएको छ भने २ हजार ५०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालमा आधुनिक खुद्रा व्यापारको बढ्दो प्रभावसँगै बिगमार्ट उपभोक्ताको बानी परिवर्तन गर्ने नयाँ अभ्यासका रूपमा देखिन थालेको छ।
बिगमार्टका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शाश्वत ढकालले काठमाडौं उपत्यकामा घरपरिवारको नाम बनेको बिगमार्ट अब देशभरि घरपरिवारको नाम बन्ने अर्काे चरणमा प्रवेश गरिरहेको बताए। क्यापिटल नेपालसँगको अनौपचारिक कुराकानीमा उनले देशभर ८०० भन्दा बढी शाखा सञ्चालन गर्ने दीर्घकालीन परिकल्पना रहेको जानकारी दिए।
उनका अनुसार काठमाडौंपछि ठूला राजमार्ग क्षेत्र, विभिन्न जिल्लाका सदरमुकाम तथा व्यस्त सहरी बजारमा बिगमार्ट विस्तार भइरहेको छ र आगामी वर्षमा यो गति अझ तीव्र हुनेछ।
हाल बिगमार्टले १६० बढी शाखामार्फत महिनामा ४ लाख बढी ग्राहकलाई सेवा दिँदै आएको छ भने २५०० बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

आज देशभर फैलँदै गरेको बिगमार्टको सुरुआत भने सानो थियो। सन् २०१२ मा काठमाडौं कमलपोखरीको सिटी सेन्टरभित्र पहिलो बिगमार्ट सञ्चालन गरिएको थियो। यसको अवधारणा ल्याउने व्यक्ति स्वयं शाश्वत ढकाल नै हुन्। उनले आफ्ना साथी प्रिन्स खेतानसँग मिलेर यो यात्रा सुरु गरेका थिए।
सुरुदेखि नै विशाल समूह र त्रिवेणी समूह साझेदारका रूपमा जोडिएका थिए। केही समयपछि प्रिन्स खेतान बाहिरिएपछि नेतृत्व पूर्ण रूपमा ढकालले सम्हाले। त्यसपछि बिगमार्टले विस्तारको गति समात्यो र आज १६० भन्दा बढी शाखा पुगेको छ। यो कथा एउटा मलभित्र जन्मिएको अवधारणा कसरी नेपालकै सबैभन्दा ठूलो रिटेल चेन बन्ने यात्रामा छ भन्ने उदाहरण पनि हो।
ढकालका अनुसार विदेश यात्राका क्रममा एकै ठाउँमा घरायसी सामान सहज रूपमा पाइने पसल संस्कृतिले उनलाई प्रभावित बनाएको थियो। नेपालमा पनि यस्तो सम्भावना रहेको निष्कर्षपछि बिगमार्ट सुरु गरिएको हो।
त्यो समयमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आइसकेको थियो। तर भाटभटेनीमा खाद्यान्नदेखि लत्ताकपडा र फर्निचरसम्म पाइन्थ्यो। बिगमार्टले भने फरक बाटो रोज्यो, बस्तीबस्तीमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने छिमेकी पसलको ढाँचा। झट्ट हेर्दा विदेशी चेन सेभेन इलेभेनजस्तो लागे पनि ढकालका अनुसार त्यस्तो पूर्ण संरचना नेपालको वर्तमान अर्थतन्त्र र व्यक्तिगत आयस्तरमा पुग्न अझ समय लाग्नेछ।
बिगमार्टको सफलताको मूल सूत्र सरल छ, सुविधा, पहुँच र भरोसा। उपभोक्तालाई पाँच किलोमिटर टाढा गएर सामान किन्नु नपरोस् भन्ने मूल सोचले बिगमार्टलाई फरक बनाएको छ। दैनिक प्रयोग हुने चामल, दाल, तेल, नुन, साबुन, नास्ता सामग्री, पेय पदार्थ, बालबालिकाका सामग्री, व्यक्तिगत हेरचाहका वस्तुजस्ता सामानहरू नजिकै उपलब्ध गराउनु यसको प्राथमिकता हो।
त्यसैले कम्पनीले घरायसी विद्युतीय सामग्री, लत्ताकपडा वा अन्य भारी श्रेणीका वस्तुमा जाने योजना नरहेको जनाएको छ। नयाँ सामान थप्ने होडभन्दा निरन्तर माग हुने पुराना तथा नियमित उत्पादनलाई प्राथमिकता दिइएको छ। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा ग्राहकले चाहने कुरा धेरै बदलिँदैन, तर पहुँच र उपलब्धता अत्यन्त महत्वपूर्ण हुन्छ। बिगमार्टले यही बुझेको छ।
हालसम्म बिगमार्टले काठमाडौंबाटै देशभर रहेका शाखाहरूमा सामान पठाउँदै आएको छ। हजारौं वस्तु एकीकृत रूपमा पठाउनुपर्ने भएकाले केन्द्रीय आपूर्ति प्रणाली अपनाइएको छ। यस ढाँचाले भण्डारण व्यवस्थापन, मूल्य नियन्त्रण र आपूर्ति शृंखला प्रभावकारी बनाएको कम्पनीको बुझाइ छ।

बिगमार्टले नयाँ शाखा विस्तारका लागि विशेष टोली बनाएको छ। उक्त टोलीले दैनिक रूपमा क्षेत्र अध्ययन गर्छ, व्यापारिक सम्भाव्यता विश्लेषण गर्छ र उपयुक्त निष्कर्षमा पुगेपछि छिट्टै शाखा सञ्चालन गरिन्छ। अर्थात् शाखा विस्तार केवल नक्सामा बिन्दु थप्ने प्रक्रिया होइन, बजार अध्ययनमा आधारित व्यावसायिक रणनीति हो।
नेपालमा आधुनिक खुद्रा व्यापार विस्तारको सुरुआती चरणमै रहेको मानिन्छ। तर बिगमार्टले यस क्षेत्रलाई तीव्र गतिमा संगठित गरिरहेको छ। १६० भन्दा बढी शाखा, मासिक ४ लाख ग्राहक, हजारौं रोजगारी र ८०० शाखाको लक्ष्यले यसलाई साधारण पसल सञ्जालभन्दा धेरै ठूलो बनाइसकेको छ।
एक समय मलभित्रको प्रयोगात्मक पसल आज बस्तीबस्तीमा पुगिसकेको छ। अब प्रश्न बिगमार्ट सफल भयो कि भएन भन्ने होइन, प्रश्न अब यो हो, नेपालकै सबैभन्दा ठूलो रिटेल चेन बन्न कति समय लाग्छ?