काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । उपत्यकाको फोहोर पासाङ ल्हामु राजमार्गको बाटोबाट नुवाकोटको सिसडोलमा लगिँदै आएको छ । फागुन १ गतेदेखि ११ गतेसम्म स्थानीयवासीले राजमार्ग अबरोध गर्दा उपत्यकामा फोहोर व्यवस्थापन हुन सकेको थिएन ।
उक्त राजमार्गको १७ किलोमिटर सडक निर्माणका लागि ८ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि हालसम्म ५४ प्रतिशत मात्रै काम भएको छ । जसको कारण स्थानीयले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मुड्खु–तीनपिप्लेमा सडक पिच गर्नुपर्ने माग राख्दै फोहोर व्यवस्थापनमा बाधा पुर्याएका थिए ।
बालाजुको बाइपासदेखि ककनीसम्म १७.१ किमि बाटोको ठेक्का लागेको २०७१ सालमा हो । सैलुङ कन्ट्रक्सन एन्ड एपीआईएल जेभीसँग करिब ३३ करोडमा सडक निर्माण गर्ने सम्झौता भएको थियो । ठेकेदारले पटक–पटक विभिन्न बाहनामा म्याद थप गरे पनि निर्माण कार्य भने सम्पन्न गरेको छैन । हाल ठेकेदारको अन्तिम म्याद चैत मसान्तसम्म रहेको छ ।
स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिएर विरोध गरेपछि काठमाडौं महानगरपालिका र सडक विभागलेसमेत उक्त विषयमा चासो देखाएका छन् । स्थानीयको विरोधपछि ठेकेदार पक्षले चैत मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको महानगरपालिकाको वातावरण व्यवस्थापन तथा कृषि विभागकी प्रमुख सरिता राईले बताइन् । ठेकोदारले चैतसम्म १७ किमी सडक निर्माण सम्पन्न गर्ने जनाएसँगै फागुन १२ गतेबाट पुनः उपत्यकाको फोहोर सिसडोल लान थालिएको छ ।
यद्यपि पहिलाको जस्तो सहज वातावरण भने बनिनसकेको प्रमुख राईको भनाइ छ । हाल उपत्यकाबाट देनिक २५० देखि ३०० ट्रक फोहोर सिसडोल पुर्याएको उनले बताइन् । वातावारण विभागकी प्रमुख राई भन्छिन्, ‘अहिले दैनिक २५० देखि ३०० ट्रक फोहोर सिसडोल पुर्याएका छौं, अब स्थानीयले अवरोध नगरेका १ हप्तामा फोहोर व्यवस्थापन हुन्छ ।’
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार टनभन्दा बढी फोहोर संकलन हुने वातावरण विभागले जनाएको छ । उपत्यकाको भक्तपुर नगरपालिका बाहेकका १७ स्थानीय तहको फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरअन्तर्गतको वातावरण विभागको हो । काठमाडौंबाट सिसडोलसम्मको दूरी २६ किमि छ ।