काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’ हरुलाई सम्मान गरेको छ । फागुन २३ गते क्लबले आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’को अवसरमा महिलालाई सम्मान गरेको हो । यद्यपि अन्तर्राष्ट्रिय महिला दिवस भने फागुन २४ मा पर्छ ।
उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्रान्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा सञ्चालन भएको थियो । महिला सशक्तीकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकारात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।

पुरस्कारका विधाहरु र पुरस्कार विजेताहरु
प्रिन्सेस हेलेन शाह इनस्पीरेसनल वुमन अफ द इयरमा प्रस्तुति भट्टराई र वर्षा तामाङ तथा अमर राना गेम चेन्जर अवार्डमा क्याप्टेन प्रिया अधिकारी सम्मानित भएका छन् । त्यस्तै कोभिड हिरोहरुका लागि रत्न देवी अवार्डद्वारा सुस्वप्न रिमाल, ज्योति स्कलरसिप अवार्डबाट वुमन इन बिजनेस स्कलरसिप वर्षा कटुवाल र वुमन इन टेक स्कलरसिप सुक्रिती मास्केलाई सम्मान गरेको जोन्टा क्लबले जनाएको छ । त्यस्तै इन्द्रकला स्कलरसिप अवार्डबाट योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ र वुमन इन स्पेस मनीषा दावालाई सम्मान गरिएको हो ।
‘समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौंले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद होइन सामान्य चलनको रुपमा लिइनुपर्छ’, जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले भनिन् ।
त्यस्तै ‘अनसंग हिरोज’ विधाअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलालाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ ।
‘अनसंग हिरोज’ विधाअन्तर्गत सम्मानित हुनेमा साझा यातायातको टिकट कलेक्टर रेजिना बस्नेत, रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स सरिता चेपाङ, विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आएकी ट्याक्सी ड्राइभर इश्वरी थापा, पुरुषहरुले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी मनु थामी छन् । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए ।