काठमाडाैं । उपत्यकाका विभिन्न स्थानमा जब सेन्टर स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगी गर्दै आइरहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीका अमर पाण्डे, तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, एनएन मल्टिपर्पोज सञ्चालक विवेक यादव, एबिएस जब एन्ड ट्रेनिङ र हलेसी सेक्युरिटी सर्भिस सञ्चालक अश्विन राई रहेका छन् ।
यस्तै सिन्धु रोजगारी सेवाका सञ्चालक घनश्याम पहाडी, प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोजकी सञ्चालिक सृजना लामिछाने, क्विमान्डु एमपी सञ्चालक ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालिका रामवचन कुमार यावद रहेका छन् ।
विभिन्न व्यक्तिहरुले आफू ठगिमा परेको निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरी महानगरीय वृत्त नयाँ बानेश्वरमा पठाएको छ ।
उनीहरु र सम्बन्धित जब सेन्टरहरुले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनी प्रचारप्रसार गर्दै आइरहेका थिए । जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा ३ सय रुपैयाँदेखि ५०० सम्म फारम चार्ज तथा १ हजार देखि ६००० सम्म जब ग्यारेन्टी शुल्क लिने गरेका थिए ।
तर, फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित सर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुबिधा नदिई केही समयमै उक्त जागिर छाड्न बाध्य बनाउँदै आइरहेका थिए ।