काठमाडौं। अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाब कम नहुँदा प्रतिबन्ध लगाइएका बस्तुको आयात तत्काल नखुल्ने देखिएको छ।सरकारले यस अघि साउन महिनाको केन्द्रीय बैंकले सार्वजनिक गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई हेरेर मात्रै आयात खुल्ने नखुल्ने थप निर्णय हुने भन्दै भदौं अन्तिमसम्मका लागि आयात बन्द गरेको थियो।
बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिले वाह्य क्षेत्रमा कुनै सुधार नआएको देखिएको छ। जसले गर्दा सरकारलाई तत्काल आयात रोकिएका वस्तु खुलाउन सम्भव नहुने स्थिति पैदा भएको छ।
समीक्षा अवधिमा चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ। गतवर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ।
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।
गत वर्षको साउनमा अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाब थियो। तर, चालू आवमा केही सुधारको संकेत गरेको छ। यद्यपि, सरकारले आयात प्रतिबन्ध लगाउँदा त्यसको सिधा असर भुक्तानी सन्तुलन र चालू खातामा परेको देखिन्छ।
चालु आवको साउनका २२ अर्ब भुक्तानी सन्तुलन घाटा भए पनि यो गत आवको सोही अवधिको तुलनामा धेरै कम हो। घाटा कम हुनुको पछाडि आयात प्रतिबन्ध प्रमुख कारण हो।
सरकारले आर्थिक अवस्थालाई विश्लेषण गरेर आयात खुलाउने वा नखुलाउने भन्ने निर्णय गर्ने तयारी थालेको थियो। त्यही भएर भदौभरलाई मात्रै आयात रोकेको थियो। तर, अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब कायमै रहेको र यस्तो बेला आयात खुलाउने वित्तिकै झन अवस्था विग्रिन सक्ने केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन्।
रेमिट्यान्समा सुधार, भुक्तानी सन्तुलन घाटामा सुधार र चालू खाता घाटामा सुधार हुनुलाई राम्रो मानिएको छ। तर, यो सबै आयात प्रतिबन्धका कारणले भएको हो। सरकारले आयात खुलाउने वित्तिकै पुन पुरानै अवस्थामा फर्किने अवस्था आउँछ। त्यही भएर सरकार तत्काल आयात खोल्न सक्ने अवस्थामा पुग्न सक्ने सम्भावना कमै देखिएको छ।