काठमाडौं। १२ देशका १७५ विदेशी पाहुना सहभागी गराएर काठमाडौंमा पहिलो पटक दुई दिने ‘सगरमाथा संवाद’ भइरहेका बेला फेरि ‘अन्तर्राष्ट्रिय सगरमाथा आरोही’ सम्मेलन गरिने भएको छ।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यले शुक्रबारदेखि सुरु भएको ‘सगरमाथा संवाद’ कार्यक्रमले नेपालको पर्यटन बजारलाई थप चिनाउन मद्दत पुग्ने सरकारी अपेक्षा छ।‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नारासहितेका सगरमाथा संवाद कार्यक्रम जेठ ४ सम्म सञ्चालन हुनेछ।
सगरमाथा संवाद समापनकाे सातापछि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गरिने तयारी थालिएको छ।एभरेष्ट एलाइन्स नेपालले जेठ १३ मा पहिलो पटक आयोजना गर्न ‘एभरेष्ट समिटर समिट’ नेपालमा आयोजना गर्न लागेको हो।
सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिने एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए। सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १७७ आरोहीले नाम दर्ता गराइसकेको उनको भनाइ छ।
‘सम्मेलनमा भाग लिन विभिन्न देशका आरोहीको उत्साहप्रद उपस्थिति देखिएको छ। सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने निश्चित छ’, उनले भने।
सम्मेलनमा भारत र चीनसँगै अमेरिका, बेलायत, इटली, स्वीट्जरल्यान्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायत मुलुकका आरोही सहभागी हुनेछन्। नेपालले भने, ‘सगरमाथा आरोहणका लागि पैसा मात्र नभई आँट, साहस र हिम्मत चाहिन्छ। यो जोकोहीले पूरा गर्न सक्दैनन्।’
सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलो पटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत छ।
अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावबारे गहन छलफल हुनेछ। हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसी एकाआपसमा बाँडिनेछन्।
सम्मेलनमा प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायतका विभिन्न संघ–संस्थालाई बोलाएर हिमालका समस्याबारे आरोहीसँग समूहगत छलफल चलाइनेछ।