काठमाडौं ।जिल्ला अदालत काठमाडौंले लिखत कीर्ते, ठगी र संगठित अपराध कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
प्रहरीले पक्राउ गरेको ७ जनामध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको छ।
पृथ्वीबहादुर, उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।
फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ।
अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध ब्युरोमा २४ वटा उजुरी परेको छ।
पृथ्वीबहादुरले दुई दर्जन कम्पनी गठन गरेर गठी गरेर सम्पत्ति कमाएको सिआइबीको अनुसन्धानबाट पत्ता लागेको छ।
कुल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएका छन् । पीडितले आफूहरूको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् ।
शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सिआइबीले बताएको छ ।